समाचार मंगलबार, पुस ८, २०७६

सूचना प्रविधि विधेयकमा सहमतिको प्रयास जारी

रासस

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिमा सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका बारेमा सहमति जुट्न सकेन । सहमति नभएका कारण चार महीनादेखि समितिमा विधेयक अड्किएको छ ।

समितिको मंगलबारको बैठकबाट विधेयक पारित गर्ने कार्यसूची भए पनि सहमतिका लागि पुनः आइतबारसम्म यो विषयलाई थाँती राखिएको छ । बैठकमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरूले उपसमितिले ३६ बुँदामा गरेको संशोधनसहित विधेयक पारित हुुनुपर्ने बताए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) का सांसदले बहुमतका आधारमा विधेयक पारित गरी पठाए प्रतिनिधिसभाको बैठकमा समस्या आउनसक्ने भन्दै सहमतिका आधारमा पारित गरिनुपर्ने माग गरेका थिए ।

बैठकमा समिति सभापति कल्याणीकुमारी खड्का, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, सांसद बहादुरसिंह लामा, जीपछिरिङ लामा, रामबहादुर विष्ट, बिनाकुमारी श्रेष्ठलगायत उपस्थित थिए ।

आगामी शुक्रबार संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक लगायत नेतासँग छलफल गरी सहमति जुटाउने प्रयास गरिने निष्कर्ष निकालिएको सांसद बहादुरसिंह लामाले सञ्चारकर्मीलाई बताए ।

आइतबार बस्ने समितिको बैठकबाट सर्वसम्मतरूपमा विधेयक पारितका लागि प्रयास गरिने सभापति खड्काले बताए । सहमतिकै लागि आइतबारसम्मको समय दिइएको उनले बताए ।

समिति सचिवालयले भने आइतबारसम्म सहमति नभए प्रक्रियाबाट नै भए पनि विधेयक पारित भई अघि बढ्ने जनाएको छ । सहमतिका लागि समितिले चार महीनादेखि प्रयास गर्दै आएको सचिव वंशीराज पौडेलले जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस