किम्फमा ‘पियानो टु झान्स्कर’ लाई प्रथम पुरस्कार
.jpg)
पर्वतीय विषयवस्तुमा आधारित चलचित्रहरुको काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा माइकल सुलिमाको ‘पियानो टु झान्स्कर’ ले प्रथम पुरस्कार प्राप्त गरेको छ ।
चलचित्रले दुई लाख रुपैयाँ हात पार्न सफल भएको छ । कलानी जाकोनको ‘जर्नी टु द सेन्टर अफ द हार्ट’ ले दास्रो हुँदै एक लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ । मार्गा गुटेरिजको ‘रोप्स्’ ले तेस्रो हुँदै एक लाख रुपैयाँ जितेको छ ।
नेपाल पानोरामा अन्तर्गत केदार श्रेष्ठको ‘जुनुको जुत्ता’ उत्कृष्ट कथानक (फिक्सन) र प्रणवनारायण मानन्धरको ‘पोट्रेट अफ माने’ गैर–कथानक (ननफिक्सन) फिल्म घोषित हुँदै क्रमशः एक लाख र ७५ हजार रुपैयाँ प्राप्त गरेको थियो। अवार्डको प्रयोजन मिला प्रोडक्सन प्रालि र नेपाल चलचित्र विकास बोर्डले गरेका हुन् ।
किम्फमा प्रदर्शित यस वर्षको उत्कृष्ट साहसिक पर्वतीय फिल्म जोस्ट भानको ‘ड्रोम्मेल्याण्ड’ हुन सफल भएको छ । उत्कृष्ट फिल्मलाई पासाङ ल्हामु शेर्पा फाउन्डेसनबाट एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरेको छ ।
धोंडुप छिरिङको ‘आमा खान्डो’ ले ‘अडियन्स अवार्ड’ हात पार्न सफल भएको छ । मुस्ताङको परिवेशमा खिचिएको यस फिल्ममा आमा र सन्तानको मार्मिक सम्बन्धलाई प्रस्तुत गरिएको थियो । फिल्मले ७५ हजार रुपैयाँको राशी जितेको छ जसको प्रायोजन अस्कर इन्टरन्यासनल कलेजले गरेको छ ।
यसपटक किम्फले आयोजना गरेको ‘परिवर्तित नेपाल’ शीर्षकको तीन मिनेटको सर्ट फिल्म प्रतियोगितामा नवविजय प्रकाश श्रेष्ठको ‘एकता’ पहिलो, भिरा फिल्म्स्को ‘अल्टर द चेन्ज’ दोस्रो र दीपक सुब्बाको ‘द रेड स्कार्फ’ तेस्रो हुँदै क्रमश: ४० हजार, ३० हजार र २० हजार प्राप्त गरेका छन् । महोत्सवमा ‘परिवर्तित नेपाल’ छनोट भएका उत्कृष्ट १० फिल्म प्रदर्शन भएका थिए ।
किम्फको १७औं संस्करणमा नेपाललगायत २९ देशका ७९ वटा फिल्महरू प्रदर्शन भएका थिए । फिल्म हेर्ने दर्शकको अपेक्षाअनुरूप साहसिक खेलकुद, पर्वतारोहण, पर्वतीय समाज र संस्कृति, पर्वतीय जीवनशैली तथा वातावरण संरक्षण लगायत विषय समेटिएका वृत्तचित्र, कथानक चलचित्र, लघु चलचित्र र प्रयोगवादी फिल्महरू प्रदर्शन भएका थिए ।
‘पछाडि पारिएकाहरुको अवाज’ नारा सहित आयोजना भएको महोत्सवको समापनमा स्वीस कथानक फिल्म ‘हाइडी’ को विशेष प्रदर्शन गरिएको थियो । महोत्सवमा फ्रेन्च नागरिक डेनिस पौलेद्वारा खिचिएका नेपालका ४० वर्ष पुराना तस्बिरहरूको प्रदर्शनमा राखिएका थिए ।
यसपटक महोत्सवमा फिल्म प्रदर्शनीसँगै विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) को हिउँचितुवा संरक्षणसम्बन्धी स्टोरी टेलिङ कार्यक्रम आयोजना गरेको थियो ।
त्यस्तै, महोत्सवमा प्लान इन्टरनेसनलको महिला सशक्तिकरणसम्बन्धी कार्यक्रमपनि आयोजना भएको थियो । यसपटक ब्रिटिस काउन्सिलको तर्फबाट छलफल र फिल्म प्रदर्शनी गरिएका थिए । एसियाली कला संग्रहालयबारे छिरिङ शेर्पा र साहसिक फिल्म निर्माणसम्बन्धी माइकल डिलनले मास्टरक्लास दिएका थिए ।
महोत्सवको आयोजक हिमाल एसोसिएसनका कार्यकारी निर्देशक तथा किम्फका अध्यक्ष वसन्त थापाले अर्को वर्षको किम्फ महोत्सवको मिति पनि तोकिएको जानकारी दिए ।
नेपाल भ्रमण वर्ष २०२० को डिसेम्बर १० देखि १४ तारिखसम्म हुने उनले बताए । थापाले अर्को वर्षको किम्फमा उत्कृष्ट फिल्महरु लिएर आउने वाचासहित विजेताहरुलाई बधाई दिएका थिए ।
उनले भने, “नेपाली फिल्महरुलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउन वर्षेनि महोत्सवको आयोजना गरिरहेका छौं । नेपालमा स्वतन्त्र फिल्म निर्माण गर्न किम्फले फिल्म मेकरहरुलाई प्रोत्साहित गरिरहेको छ । फिल्म भनेको बौद्धिक र सिर्जनात्मक हुन्छ भन्ने मान्यता किम्फले स्थापित गर्न लागिपरेका छौं ।”
गत मंसीर २५ देखि आइतबारसम्म राजधानीको सभा गृह र नेपाल पर्यटन बोर्डमा किम्फ सञ्चालन भएको थियो । महोत्सवमा १७ वटा फिल्म प्रतिस्पर्धात्मक खण्डमा र ३२ फिल्म गैर–प्रतिस्पर्धात्मक खण्डमा समावेश भएका थिए । नेपाली पानारोमा अन्तर्गत १४ वटा फिल्महरु प्रदर्शन भएका थिए ।