काठमाडौंमा थप दुई जनामा हैजा पुष्टि
काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै काठमाडौंमा हैजाका बिरामीको संख्या २३ पुगेको छ। असार २ गते काठमाडौंको बागबजार क्षेत्रका दुई जनामा हैजा पुष्टि भएको थियो।
त्यस्तै, हैजाका बिरामीको संख्या बढ्दै आएको छ। बागबजारसँगै डिल्लीबजार, कपन, बोराटार र ललितपुरको सानेपामा हैजाका बिरामी देखिएका हुन्।
अहिलेसम्म हैजा देखिएकामध्ये २० जना निको भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अहिले तीन जनाको उपचार चलिरहेको छ।
हैजाको परीक्षणका लागि डिल्लीबजार र घट्टेकुलोमा सेल्फ टेस्टिङ बुथ राखिएको छ। त्यस्तै, झाडापखालाका बिरामी भएका अस्पतालमा परीक्षणका लागि किटको व्यवस्था गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।