काठमाडौंमा हैजाका बिरामी बढ्दै, १२ जनामा पुष्टि
काठमाडौं उपत्यकामा हैजाका बिरामी बढ्दै गएका छन्। सोमबारसम्म १२ जनामा हैजा पुष्टि भएको छ।
सोमबार प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले अहिलेसम्म १२ जनामा हैजा पुष्टि भएको बताए।
उनीहरूमध्ये आठ जना उपचारपछि घर फर्किसकेका छन्। बाँकी चार जनाको उपचार भइरहेको डा. सिंहले बताए।
उपत्यकामा पहिलो पटक यही असार ५ गते दुई जनामा हैजा पुष्टि भएको थियो। असार २ गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका १८ र २३ वर्षीय बिरामीमा हैजा पुष्टि भएको हो। दुवै जना काठमाडौं महानगरपालिका-२८ बागबजारमा बस्दै आएका थिए।
त्यसयता हैजाका बिरामी बढ्दै गएका छन्। एक सातामै १० जना थपिएका हुन्।