कांग्रेस सभापतिमा को छोड्ला, को भिड्ला?
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि दाबी गरिरहेका पाँच जना नेतामध्ये केहीले पछाडि हट्ने संकेत गरेका छन्।
आजबाट प्रारम्भ हुने महाधिवेशनमा सभापतिका लागि संस्थापना पक्ष र इतरपक्षका गरी पाँच जना उम्मेदवार देखिएका छन्। संस्थापन पक्षबाट प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा उम्मेदवार बन्ने भएका छन्। उनको टोलीले प्रचार प्रसार शुरू गरिसकेको छ।
उनको प्रचारमा ‘बलियो कांग्रेस समृद्ध देश, सभापतिमा अब एक पटक शेरबहादुर देउवा नै बेस’ भन्ने नारा दिइएको छ।
यसअघि देउवा पक्षमै रहेका उपसभापति विमलेन्द्र निधिले पनि उम्मेदवारी घोषणा गरिसकेका छन्। उनी दुई सातादेखि प्रचारमा जुटिरहेका छन्।
त्यस्तै, संस्थापन इतरपक्षबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह र डा. शेखर कोइराला सभापतिका लागि दाबेदार छन्। यसअघि सभापतिको उम्मदेवारमा दाबी गर्दै आएका महामन्त्री डा.शशांक कोइरालाले पौडेललाई समर्थन गर्ने जनाइसकेका छन्।
सभापतिको उम्मेदवारका रुपमा दाबी गर्दै आएका पाँच जनामध्ये पनि निधिले पौडेललाई समर्थन गर्ने संकेत गरेका छन्। शुक्रबार चितवन-काठमाडौं प्रजातान्त्रिक संगमले जावलाखेलमा आयोजित कार्यक्रममा बोल्दै निधिले साझा उम्मेदवार बनेका पौडेललाई समर्थन गर्ने बताएका हुन्। उनले कार्यक्रममा भने, “पौडेललाई सर्वसम्मत सभापति बनाउने हो भने म पनि समर्थन गर्न तयार छु।”
त्यस्तै, पौडेल, सिंह र डा.कोइरालामध्ये एक जनालाई उम्मेदवार बनाउने कोसिस भइरहेको छ। वरिष्ठ नेता पौडेलले आफूलाई सहयोग गर्न दुवै जनालाई आग्रह गर्दै आएका छन्। तर, सिंह र डा. कोइराला भने नयाँ पुस्तालाई सभापति बनाउनुपर्नेमा जोड दिँदै आएका छन्।
बिहीबारसम्म भएका छलफलमा टुंगो नलागेपछि डा. कोइरालाले पनि प्रचार थालेका छन्। एक पटक मात्रै सभापति बन्ने जनाउँदै डा. कोइरालाले ‘एक पटक, यसै पकट’ नारा दिएर प्रचार थालेका छन्।
सभापतिका दाबेदार सिंहले भने आफूलाई सभापतिको साझा उम्मेदवार बनाउनुपर्ने बताउँदै आएका छन्। एक महीनाअघिबाटै प्रचारमा जुटेका सिंहले आगामी निर्वाचनपछि पौडेललाई राष्ट्रपति र डा.कोइरालालाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका छन्।
महामन्त्री डा. कोइरालाको समर्थन र निधि पनि सकारात्मक देखिएपछि आफूलाई साझा उम्मेदवार बनाउनुपर्नेमा पौडेलले पनि छलफल तीव्र पारेका छन्। संस्थापन इतर पक्षबाट पौडेललाई नै साझा उम्मेदवार बनाइने कांग्रेस नेता अर्जुन नरसिंह केसीको भनाइ छ। उनले शुक्रबार सञ्चारकर्मीसँग कुराकानी गर्दै पौडेलाई साझा उम्मेदवार बनाउने विषयमा छलफल भइरहेको बताएका छन्।
कांग्रेस महाधिवेशनमा २७ मंसीरमा नेतृत्व चयनका लागि मतदान हुने कार्यसूची छ। जसका लागि २६ मंसीरमा उम्मेदवारी दर्ता हुनेछ।
कांग्रेस महामन्त्रीमा भने १० जना दाबेदार देखिएका छन्। कांग्रेसमा दुई जना महामन्त्री रहने व्यवस्था छ।