राष्ट्रिय सभा निर्वाचन : २० पुसमा उम्मेदवारी दर्ता
राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि २० पुसमा उम्मेदवारी दर्ता गरिने भएको छ।
राष्ट्रिय सभा सदस्यको निर्वाचनका निर्वाचन कार्यतालिका र कार्यक्रम स्वीकृत गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनाएका छन्। उनका अनुसार, राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सहभागी हुने दलले १० पुससम्म आयोगमा दल दर्ता गर्नुपर्नेछ।
त्यसपछि आयोगले १७ पुसमा मतदाता नामावली सार्वजनिक गर्ने भएको छ। मतदाता नामावलीमा परेका उजुरी तथा निवेदनमाथि १८ र १९ पुसमा छानबिन गर्ने आयोगको कार्यतालिका छ।
आयोगले राष्ट्रिय सभा सदस्यका लागि २० पुसमा उम्मेदवारी दर्ताको समय तोकेको छ। २१ पुसमा उम्मेदवारको विरोधमा उजुरी लिने तथा २२ र २३ पुसमा छानबिन गरिने आयोगले जनाएको छ।
उम्मेदवारी फिर्ता लिने समय २४ पुसलाई तोकिएको छ। त्यसपछि आयोगले २५ पुसमा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने र चुनाव चिह्न प्रदान गर्ने भएको छ।
राष्ट्रिय सभा सदस्यको चुनाव १२ माघमा हुँदै छ। मतदानको समय बिहान ९ देखि अपराह्न ३ बजेसम्म तोकिएको छ।
राष्ट्रिय सभाका १९ सदस्यका लागि निर्वाचन हुन लागेको हो।