१९ सांसद चयनका लागि १२ माघमा राष्ट्रिय सभा निर्वाचन गर्ने सरकारको निर्णय
सरकारले १२ माघमा राष्ट्रिय सभाका १९ सांसद चयनका लागि निर्वाचन गर्ने भएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभा निर्वाचन १२ माघमा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। आगामी फागुनमा म्याद सकिने राष्ट्रिय सभाका १९ जना सांसदको स्थानपूर्तिका लागि चुनाव हुन लागेको हो।
४ असार २०७५ मा गोलाप्रथाबाट कार्यकाल तोक्ने क्रममा २० जना सांसदको कार्यकाल चार वर्ष निर्धारण भएको थियो। सरकारले मनोनयन गरेका रामनारायण बिंडारीको कार्यकाल पूरा हुन लागेको छ।
चार वर्षे कार्यकाल सकिन लागेका राष्ट्रिय सभा सांसदहरूमा नेकपा (एमाले)का अगमप्रसाद बान्तावा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनकला ओझा, परशुराम मेघी गुरुङ, रामलखन चमार र सुमनराज प्याकुरेल छन्।
नेकपा (माओवादी केन्द्र)का खिमकुमार विक, जीवन बुढा, दीनानाथ शर्मा र राष्ट्रिय सभा उपाध्यक्ष शशिकला दाहालको कार्यकाल पनि फागुनमा सकिन लागेको हो।
नेकपा (एकीकृत समाजवादी)का उदया शर्मा पौडेल, ठगेन्द्र प्रसाद पुरी, शान्तिकुमारी अधिकारी र शेरबहादुर कुँवरको कार्यकाल पनि २० फागुनमा सकिंदै छ।
यस्तै, नेपाली कांग्रेसका दृगनारायण पाण्डेय, तारादेवी भट्ट र राधेश्याम अधिकारीको कार्यकाल सकिन लागेको छ।
सत्तारूढ पाँच दलले राष्ट्रिय सभा चुनावमा तालमेल गर्ने सहमति गरेका छन्।