महासन्धि अनुमोदन
व्यवस्थापिका– संसद्ले जैविक तथा विषाक्त हतियारको विकास, उत्पादन र भण्डारणमा प्रतिबन्ध लगाउने तथा तिनलाई नष्ट गर्नेसम्बन्धी महासन्धिलाई बहुमतले अनुमोदन गरेको छ ।
यसअघि परराष्ट्रमन्त्री प्रकाशशरण महतले उक्त महासन्धिलाई पारित गरियोस् भनी सदन समक्ष प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावमाथिको छलफलमा रामनारायण बिंडारी, गणेशमान गुरुङ, रामहरि सुवेदी र अनुराधा थापा मगरले भाग लिए ।
उनीहरुले मानव सभ्यताकै विरुद्धमा रहेका जीवाणुजन्य तथा विषाक्त हातहतियारको रोकथाम गर्न सरकारले अन्तर्राष्ट्रियमञ्चमा स्पष्ट धारणा राख्नुपर्ने आवश्यकता औँल्याए ।
सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री डा महतले जीवाणुजन्य तथा विषाक्त हतियारको दुरुपयोग नहोस् र यसको प्रयोग घटाउँदै लैजानुपर्छ भनेर सरकारले महासन्धि अनुमोदनलाई अघि बढाएको बताए ।
व्यवस्थापिका– संसद्को अर्का बैठक यही कात्तिक ९ गते अपराह्न ३ बजे बस्ने छ । आगामी बैठकमा अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसदमा पेश भएको महाभियोग प्रस्तावमा छलफल हुनेछ ।