रिपोर्ट विहीबार, साउन १०, २०७५

खुला विश्वविद्यालयः उच्च शिक्षामा फड्को

रामु सापकोटा

खुला विश्वविद्यालयले अनलाइन शैक्षिक प्रणाली विकास गरेपछि उच्च शिक्षामा नयाँ आयाम थपिएको छ ।

तस्वीरः रामु सापकोटा

कैलाली जिल्ला सदरमुकाम, धनगढीकी शान्ति भट्ट (३३) ले आठ वर्षअघि सुदूरपश्चिमाञ्चल विश्वविद्यालय (सुपवि) बाट शिक्षा संकायमा स्नातकोत्तर (एमएड) गरिन् । त्यसपछि एमफिल (मास्टर्स अफ फिलोसफी) गर्ने चाहना पूरा गर्न उनले काखको छोरा र घरपायक जागिर छाडेर ६६२ किलोमिटर पूर्वको काठमाडौं आउनुपर्ने भयो, जुन गर्न सकिनन् । आठ वर्षपछि उनको एमफिल पढ्ने धोको पूरा भएको छ, त्यो पनि धनगढीमै बसेर । 

ललितपुरको मानभवनस्थित खुला विश्वविद्यालयले पहिलो पटक २९ फागुन २०७४ मा एमफिल तहमा भर्ना खोलेपछि भट्ट जस्ता सयौं विद्यार्थीले घरमै बसेर पढ्ने सुविधा पाएका छन् ।

खुला विश्वविद्यालय त्यस्तो अवधारणा हो, जसबाट विद्यार्थीले घरैमा बसीबसी अनलाइन कोर्स पढ्छन् । सेमेस्टरको अन्तिम परीक्षा दिन विद्यार्थी विश्वविद्यालयले तोकेको परीक्षा केन्द्रमा उपस्थित हुनुपर्छ । गएको वैशाखमा भर्ना भएर जेठदेखि शिक्षा संकायको एमफिल तहको पढाइ शुरू गरेकी शान्ति भट्ट अहिले पहिलो सेमेस्टरमा चार विषय पढिरहेकी छन् ।

यसअघि विभिन्न विषयमा अनलाइन कोर्स गरेकाले खुला विश्वविद्यालयको पढाइ सहज लागेको बताउँदै उनी भन्छिन्, “पेशा–व्यवसाय र अध्ययनलाई सँगै अघि बढाउनेका लागि ठूलो अवसर हो, खुला विश्वविद्यालय ।”

अनलाइन अध्ययन
अनलाइनको पढाइ सम्बन्धी अनुभव नभएका विद्यार्थीलाई खुला विश्वविद्यालयको पढाइ शुरूमा प्राविधिक रूपमा कठिन लाग्न सक्छ । तिनैमध्येका एक बर्दघाट, नवलपरासीका पुष्पराज पौडेल (३४) शुरूमा कम्प्युटर खोलेर सफ्टवेयर मार्फत पढ्दा कता–कता हराए जस्तो भएको बताउँछन् ।

वैशाखदेखि शिक्षा संकायमा एमफिल तहमा भर्ना भएका उनी हरेक बेलुका ६ देखि ९ बजेसम्म अनलाइन कक्षा लिन्छन् । “विस्तारै बानी परेपछि कक्षा कोठाको साटो घरमा बसेर पढ्न मज्जा लाग्न थाल्छ”, उनी भन्छन् ।

काठमाडौं उपत्यकामा क्याम्पस पढ्नेहरूका लागि सबभन्दा ठूलो सास्ती हुन्छ– ट्राफिक जाम र धुलो–धुवाँ । खुला विश्वविद्यालयको अनलाइन कोर्सले यो समस्याबाट मुक्ति दिन्छ । फेरि, अनलाइनको पढाइ कक्षा कोठाको पढाइभन्दा कुनै पनि हिसाबले कमजोर नहुने पौडेल बताउँछन् ।

बिहान ९ देखि अपराह्न चार बजेसम्म भक्तपुर, सल्लाघारीको सैनिक महाविद्यालयमा कक्षा ११–१२ लाई पढाउने उनको पेशाले पढाइमा कुनै असर पुर्‍याएको छैन । उनी भन्छन्, “पढाइका लागि कक्षा कोठा पुग्नैपर्ने बाध्यता अनलाइन शिक्षाले हटाइदिएको छ ।”

खुला विश्वविद्यालयमा सामाजिक शास्त्र तथा शिक्षा र विज्ञान स्वास्थ्य तथा प्रविधि संकायमा ४०८ विद्यार्थी अध्ययनरत छन् । स्नातक र स्नातकोत्तर तहमा विश्वविद्यालयले चालू शैक्षिक सत्रदेखि व्यवस्थापन तथा कानून संकायका चार विषयमा भर्ना खुलाएको छ ।

विज्ञान, स्वास्थ्य तथा प्रविधि संकाय अन्तर्गत दुईवर्षे ‘मास्टर्स इन इ–गमर्नेन्स’ विषयमा पढाइ भइरहेको छ । विश्वविद्यालयले सामाजिकशास्त्र तथा शिक्षा संकायमा एमफिल तहको एकवर्षे कोर्स पूरा गर्न रु.१ लाख १० हजार र विज्ञान स्वास्थ्य तथा प्रविधि संकायको एमफिल इन आईसीटी तह अध्ययन गर्न रु.१ लाख ७० हजार शुल्क तोकेको छ । 

समाजशास्त्रको एमफिलमा अर्थशास्त्र, समाजशास्त्र र राजनीतिशास्त्र पढाइन्छ । विद्यार्थीले ‘बिग ब्लु बटन’ र ‘स्काइप फर बिजनेस’ सफ्टवेयर मार्फत कक्षा लिन्छन् । विश्वविद्यालयले भिडियो र म्यासेजबाट पनि पढाइलाई प्रभावकारी बनाएको छ । भिडियो मार्फत शिक्षकले पढाइरहेका बेला विद्यार्थीले नबुझे तुरुन्त म्यासेज पठाएर सोध्न सक्छन् ।

भर्ना प्रक्रिया र पढाइ
खुला विश्वविद्यालयमा पढ्न चाहने विद्यार्थीले अनलाइनमा ब्यांक भौचर र फारम भरेर पठाउनुपर्छ । त्यसपछि प्रवेश परीक्षा हुन्छ । त्यसका लागि प्रत्येक प्रदेशमा परीक्षा केन्द्र तोकिन्छ । प्रवेश परीक्षा पास गरेका विद्यार्थी फेरि अनलाइन फारम भरेर भर्ना हुन्छन् ।

कक्षा संचालन हुनुअघि विद्यार्थीलाई ललितपुरको स्टाफ कलेजमा तीनदिने अभिमुखीकरण कक्षामा सहभागी गराइन्छ, जहाँ पढ्ने सामग्रीदेखि गृहकार्य बुझउनेसम्मको जानकारी गराइने रजिष्टार कमल ढकाल बताउँछन् । विद्यार्थीलाई रोजेको विषय अनुसार युजरनेम र पासवर्ड पनि त्यहीं दिइन्छ ।

खुला विश्वविद्यालयले सफ्टवेयर मार्फत गरिने कक्षा संचालनमा शिक्षकहरूले पावर प्वाइन्टको स्क्रिन सेयर गर्छन् । त्यसक्रममा विद्यार्थीले कक्षामा नबुझ्ेको कुरा शिक्षकलाई म्यासेज गरेर सोध्छन् । तोकिएको समयमा अनलाइन कक्षामा सहभागी हुन नसकेका विद्यार्थीले फुर्सद भएको बेला आफ्नो अकाउन्ट खोलेर अध्ययन गर्न सक्छन् । “विद्यार्थीलाई सकेसम्म अनलाइन कक्षा नछुटाउन भनेका छौं” रजिष्टार ढकाल भन्छन्, “कक्षा छुटे शिक्षकसँग दोहोरो छलफल हुँदैन ।”

उनका अनुसार, विश्वविद्यालयको मोडुलमा शैक्षिक सामग्री अपलोड हुन्छ । विद्यार्थीले उत्तर सफ्टवेयरमा अपलोड गरेपछि शिक्षकले मूल्यांकन गरेर अंक दिन्छन् । विद्यार्थीले सेमेस्टरको अन्त्यमा आन्तरिक अनलाइन गृहकार्य बापत ४० प्रतिशत र कक्षामा उपस्थित भएर दिइने लिखित जाँचबाट ६० प्रतिशत अंक पाउँछन् । आन्तरिक मूल्यांकन र लिखित दुवैमा न्यूनतम ५०–५० प्रतिशत अंक ल्याउने विद्यार्थी उत्तीर्ण हुन्छन् ।

नेपालमा खुला विश्वविद्यालय
औपचारिक शिक्षामा नसमेटिएकाहरूलाई समेट्न बेलायतबाट खुला विश्वविद्यालयको अवधारणा शुरू भएको मानिन्छ । नेपालमा २०३६ सालपछि उच्च शिक्षामा विद्यार्थीको चाप बढ्दै गयो । त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसले भर्ना लिन सम्भव नभएपछि औपचारिक शिक्षा उपलब्ध गराउन वैकल्पिक उपायहरू खोज्नुपर्छ भनियो । त्यसअनुसार २०३७ सालको छैटौं पञ्चवर्षीय योजनामा ‘खुला तथा दूर शिक्षाको माध्यमबाट उच्च शिक्षा उपलब्ध गराउने’ व्यवस्था गरियो ।

आठौं योजना बाहेक त्यसपछिका हरेक योजनामा खुला तथा दूर शिक्षा उल्लेख गरियो । २०६९ सालमा बनेको खुला विश्वविद्यालय पूर्वाधार विकास समितिले २०७३ सालमा खुला विश्वविद्यालय ऐन जारी गर्न सुझायो । सुझाव अनुसार सरकारले ‘खुला विश्वविद्यालय ऐन २०७३’ जारी गरेपछि मुलुकमा वैकल्पिक शिक्षा पढाउने बाटो खुल्यो ।

अनलाइन मार्फत विद्यार्थी पढाउन दक्ष शिक्षकको आवश्यकता पूरा गर्न विश्वविद्यालय अनुदान आयोगले तीन जनालाई तालिमका लागि श्रीलंका पठायो । शिक्षक र पूर्वाधार तयार गर्दा समेत विद्यार्थी आउनेमा विश्वविद्यालयका पदाधिकारीहरू ढुक्क हुन नसकेको अवस्थामा भर्ना आवेदन खुलाउँदा तोकिएको सिटभन्दा पनि बढी विद्यार्थीले पढ्ने रुचि देखाए । अहिले विश्वविद्यालयले प्रत्येक विषयमा ५० विद्यार्थी पढाउने व्यवस्था मिलाएको छ ।

विश्वविद्यालयले सरकारबाट गएको आर्थिक वर्षमा रु.१० करोड र चालू आव २०७५/७६ मा रु.१४ करोड पाएको छ । मानभवनमा भाडाको भवनमा कार्यालय संचालन गरिरहेको खुला विश्वविद्यालयमा पाँच पदाधिकारी र ५३ जना ‘पार्टटाइम’ शिक्षक छन् ।

प्रतिकृया दिनुहोस