प्रधानमन्त्रीले न्याय नदिए आमरण अनसन बस्ने गंगामायाँको घोषणा
आफ्ना छोराका हत्यारालाई कार्वाहीको माग गर्दै आएकी गंगामायाँ अधिकारीले फेरी आमरण अनसनको घोषणा गरेकी छिन् । पुष्पकमल दाहाल प्रधानमन्त्री बनेपछि छोराका हत्यारालाई कार्वाही हुने आसमा रहेकी गंगामायाँले पाँच दिनभित्र आफूले न्याय नपाए आमरण अनसन बस्ने बताइन ।
२०६१ सालमा माओबादीद्वारा मारिएका छोरा कृष्णप्रसाद अधिकारीको हत्याका अभियुक्तलाई कार्वाहीको माग गरेर अनसन बस्दाबस्दै उनका श्रीमान नन्द प्रसादको दुई वर्ष अघि मृत्यु भएको थियो ।
शव अहिले पनि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा रहेको छ । न्याय नपाएसम्म दाहसंस्कार नगर्ने गङ्गामायाले अडान राखेपछि नन्दप्रसादको शव अस्पतालमा नै राखिएको छ ।
“प्रचण्ड माओवादी पार्टीका मात्रै नभएर राष्ट्रकै प्रधानमन्त्री भएकाले मजस्ता अन्यायमा रहेकालाई न्याय दिनैपर्छ ” , गंगामायाँ भन्छिन् ,“सरकारले मरेको मान्छेको लाश कति दिनसम्म बाकसमा राख्नसक्छ रु न्याय नदिने हो भने म पनि अब बाँच्नुको कुनै अर्थ नै छैन ।”
हत्यामा आरोपित छविलाल पौडेल, भीमसेन पौडेल, जानुका पौडेल, पशुराम पौडेललगायतलाई किटानी गरी चितवन जिल्ला अदालतमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको भए पनि हालसम्म उक्त मुद्दाको कुनै सुनुवाई भएको छैन । सर्वोच्च अदालतको आदेशमा आरोपी भीमसेन पौडेल र पशुराम पौडेललाई पक्राउ गर्नासाथ तत्कालीन एमाओवादी नेताको विरोधका कारण उनीहरुलाई धरौटीमा रिहा गरिएको थियो ।