भारत—पाक तनावले नेपाली सीमाक्षेत्रमा कडाई
-रासस
पाकिस्तानसँग तनाव बढेपछि भारतीय पक्षले नेपाल भारत सीमाको दशगजा क्षेत्र तथा नाकामा सुरक्षा व्यवस्था कडा बनाएको छ ।
खुला सीमाको फाइदा उठाउँदै आपराधिक समूहको घुसपैठ हुनसक्ने भन्दै भारतीय सुरक्षाकर्मीले सीमा नाकामा कडाइ गरिरहेका छन् ।
बारा जिल्लाको सीमा क्षेत्रमा पर्ने भारततर्फका आदापुर, घोडादाना, घोडासहाय लगायतका नाकामा सुरक्षा व्यवस्था कडा पार्नुका साथै चारपाङ्ग्रे सवारीसाधनमा रोक र पैदल यात्रीमाथि निगरानी बढाइएको छ ।
बाराको मुख्य सीमा नाका मटिहर्वा तथा टाँसिएकै भारतको आदापुर नाकामा सुरक्षा व्यवस्था कडा पारिएको सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट मटिहर्वाका सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण बरालले बताए ।
दशजगा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले बिरामी बोकेको तथा जन्ती बोकेका गाडी बाहेकका सम्पूर्ण गाडी आवतजावतमा रोक लगाएको छ भने पैदल यात्रीलाई समेत निगरानीमा राखेको सशस्त्र प्रहरी निरीक्षक बरालले बताए ।
यसैगरी, पर्साको भारतीय सीमाका रक्सौल—भिस्वा, परसौनी—भेलाई, सिर्सिया—रक्सौला, जानकीटोल—इनर्वा, ठोरी—भिस्वाठोरी नाकामा समेत भारतीय निगरानी बढाइएको छ ।