कार्यालय बन्द गरेर भ्रमणमा गए जनप्रतिनिधि र कर्मचारी
गुल्मीको रेसुङ्गा नगरपालिका–६ का जनप्रतिनिधि र वडा सचिव कार्यालय नै बन्द गरेर विभिन्न स्थानको भ्रमण गरेका छन् ।
उनीहरुले स्थानीय नेता, शिक्षक र व्यापारीहरुलाई लिएर कृषि भ्रमणका नाममा पोखरा, लुम्बिनी लगायतका क्षेत्रमा भ्रमण गरेको खुलेको छ ।
“उनीहरुको भ्रमणका कारण जेठ ३, ४ र ५ गते तीन दिनसम्म वडा कार्यालय बन्द रह्यो, सेवाग्राही मर्कामा परे,” स्थानीय अर्जुन मरासिनी भन्छन् ।
वडाले किसानलाई आधुनिक र आवश्यक कृषि बारे जानकारी दिलाउने भन्दै कृषि भ्रमणका लागि रु. एक लाख ५० हजार बजेट विनियोजन गरेको थियो । कृषि शब्द जोडिएको त्यो भ्रमणमा वास्तविक कृषक भने थिएनन् । उक्त रकमबाट वडाकै प्रतिनिधि, सचिव र ठूलाठालूले घुमघाम गरे ।
अर्का स्थानीय गोपाल मरासिनी पनि कृषकलाई जानकारी नै नदिई केही व्यक्तिले रमाइलो गर्नु दुखद भएको बताउँछन् । “कृृषि भ्रमणमा वास्तविक किसानलाई लैजानु पर्ने हो तर, भ्रमणमा जानेहरु वास्तविक किसान होइनन्,” उनी भन्छन् ।
भ्रमणमा वडाध्यक्ष गन बहादुर गुरुङ्ग, वडा सदस्यहरु हरिप्रसाद पोखरेल, जानका मरासिनी, गीता विक र वडासचिव डिल्लिराज आचार्य समावेश थिए ।
त्यस्तै नेपाली कांग्रेसका वडा सभापति केशव मरासिनी, पूर्व एमालेका वडाध्यक्ष राम प्रसाद मरासिनी, काङ्ग्रेसका स्थानीय नेता हुमा पोख्रेल, जनसहयोग माध्यमिक विद्यालयका शिक्षक कृष्ण प्रयासी लगायतका व्यक्तिहरुले पनि कृषि भ्रमणका नाममा रमाइलो गरे ।
‘बाध्यताले भ्रमण गरें’
भ्रमणमा गएका नेपाली कांग्रेस ६ नम्बर वडा सभापति केशव मरासिनीले आफूलाई अकस्मात खबर गरी भ्रमणमा समावेश गराइएको बताउँछन् ।
“काम विशेषले बुटवल गएका बेला वडा सचिवले भ्रमणमा जाँदैछौं आउनुस् भनेपछि तम्घासबाट भ्रमण टोलिमा समावेश भएको हुँ” उनले भने ।
कसैले जोरजवरजस्ती नगरेर निमन्त्रणकै भरमा भ्रमणमा गएका उनले भने, “सचिवले भनेपछि जानै पर्यो ।”
“कृषकको नाममा हामीहरुले गरेको भ्रमण म आफैंलाई ठिक लागेको छैन, फलदायी पनि भएन,” उनले भने, “पैसा सक्ने काम मात्रै भएको छ ।”
वडा सचिव आचार्य भने नगरपालिकाको कार्यालयबाट स्वीकृति लिएर कार्यालय बन्द गरी भ्रमण गएको बताउँछन् । वडाका प्रत्येक कृषि समूहमध्येबाट एक÷एक जना, जनप्रतिनिधि र आफूसहितको समूह कृषि भ्रमण गएको उनले बताए ।
जनसहयोग माविका शिक्षक प्रयासीलाई पनि समूहले नै छनोट गरेकोले भ्रमणमा समावेश गरिएको उनले बताए । त्यस्तै वडाध्यक्ष गुरुङको निर्देशनअनुसार आफूले भ्रमणमा जाने सदस्यहरुलाई फोन गरेको पनि उनको भनाई छ ।
‘भ्रमण उपलब्धिमुलक’
वडा सदस्य हरिप्रसाद पोखरेलले भने भ्रमणका क्रममा बन्दीपुरको बाख्रा फर्म, गोरखाको कामधेनु गाई फर्म, स्याङ्जा वालिङमा माटो बिना गरिएको तरकारी खेती, तनहुँको घाँस खेति लगायतका क्षेत्र अवलोकन गरिएकाले भ्रमण उपलब्धिमुलक रहेको दाबी गर्छन् ।
पोखरा र लुम्बिनी भने पूर्व निर्धारित नभए पनि नजिकैका पर्यटकीय स्थल भएकाले पुगेको उनी बताउँछन् ।
उनले वडा काम गर्न सजिलोका लागि सबै दलका प्रतिनिधिलाई भ्रमणमा समावेश गरेको दाबी पनि गरे ।
-हुमाकान्त पोखरेल, गुल्मी