३३ किलो सुन प्रकरणः अदालतमा बयान शुरु
मोरङ जिल्ला अदालतले साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका २९ जनाको बयान लिन शुरु गरेको छ । अदालतले आज, २० वैशाखमा ६ जनाको बयान लिएको छ । पहिलो दिन शाक्य हत्याका आरोपीहरुको बयान लिइएको हो ।
सनम शाक्यको हत्या गरी शव गाडीमा हालेको आरोप लागेका चालक टेकराज मल्ल ठकुरीसहित मोहन काफ्ले र नरेन्द्र कार्की तथा अन्य आरोपीहरु लाक्पा शेर्पा, मदन घिमिरे र भारतीय नागरिक राजनकुमारको अदालतले बयान लिएको हो ।
इजलासमा उनीहरुले सनमको हत्याका विषयमा इन्कारी बयान दिएका छन् । उनीहरुले घटनास्थलमा भए पनि हत्यामा संलग्न नरहेको बयान दिएको एक कानून ब्यवसायीले बताए ।
न्यायाधीस नारायण शर्माको इजलासले लिएको ६ जनाको बयान पहिलो दिन पूरा नभएकाले २१ वैशाखमा पनि लिइने अदालतका स्रेस्तेदार नवराज दुलालले जानकारी दिए । विभिन्न चार खाले मुद्दा दर्ता भएका ६३ जनामध्ये प्रहरी नियन्त्रणमा रहेका पूर्व डीआईजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपी प्रजित केसी र सञ्जय राउतसहित २९ जनाको बयान लिन एक साता लाग्ने बताइएको छ ।
कमल रिमाल, विराटनगर