अद्भुत अविश्वसनीय मर्दी (तस्वीरहरु सहित)
अहिलेसम्म पर्यटकको घुइँचो र आधुनिकताले नछोएको मर्दी अब भने फेरिंदैछ।
- सेवा भट्टराई
आम पर्यटक नपुगेको शान्त स्थानबारे लेख्नुको जोखिम के हो भने त्यहाँको शान्ति विथोलिन सक्छ । विश्व पर्यटनमा नपुगेको गन्तव्य खोजेर त्यहाँको शान्ति र सौन्दर्य अपहरण गर्ने प्रवृत्ति जो चलेको छ ।
पदयात्रीले छिचोली नसकेका गन्तव्यमा पुग्ने हुटहुटीले नेपाल आउने पर्यटकहरु कञ्चनजंघा, डोल्पो वा रोल्वालिङसम्म पुग्ने गर्छन् । नयाँ वर्षको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले रारा पुगेर कर्णाली पर्यटन अभियान शुरु गरे तर, यो त्यति राम्रो काम होइन भनेर उनलाई कसले सम्झाइदेओस् ?
मर्दी नेपालको अमूल्य निधि हो । अन्य पदयात्रा मार्ग जस्तै पर्यटकको घुइँचोले यहाँको वातावरण नबिथोलियोस् भनेरै हुनुपर्छ, अहिलेसम्म जो त्यहाँ पुगे, धेरैले त्यो अभूतपूर्व पदयात्राबारे बढाइँचढाइ लेखेनन्, चकित पार्ने खालका मनमोहक तस्वीरहरु प्रकाशन गरेनन् । निराकार परिदृश्य, भव्य आकाश, एकाग्रता र एकलासको आनन्दका कारण संसारका चल्तीका पदमार्गभन्दा मर्दी धेरै फरक छ ।
पर्यटकीय शहर पोखराबाट मर्दी धेरै टाढा पनि छैन । धम्पुसहुँदै केही बेरसम्म अन्नपूर्ण सर्किटको मार्ग पछ्याएपछि पितम देउराली (२०५० मी.) बाट बाटो छुट्टिन्छ । गुलाबी लालीगुराँसले धपक्कै बलेको डाँडा, कार्पेट ओछ्याएजस्तै लालीगुराँसका पत्रले ढाकिएको छ सुगन्धित बाटो । चार घण्टाको यात्रापछि फरेस्ट क्याम्प (२,५०० मी.) पुगिन्छ । चियाको तलतल लागे पनि नजिकै चियापसल भने छैनन् । सबै सामान भरियाले ओसार्नुपर्ने भएकोले खाना पनि महँगो छ ।
तर, यो अवस्था परिवर्तन हुने संकेत देखिंदैछ । मर्दी पदयात्रा लोकप्रिय हुने संभावना देखेपछि व्यवसायीहरुले लगानी बढाउँदैछन् । केही नयाँ लजहरुमा अझै काँचो काठको गन्ध आउँछ, मेनु छापिइसकेको छैन ।
स्थानीयहरु भन्छन्, मर्दी शृंखलामा पानी पर्दैन, पोखिन्छ । कि त हिउँ पर्छ कि असिना । म फरेस्ट क्याम्पमा पुग्दा ठूलो आँधीसहित असिना वर्षा भएको थियो । तल्लो क्याम्प (२,९७० मी.) मा ताजा हिउँले ढाकिएको माछापुच्छ«ेको भव्य दृश्यपान गर्न सकिने गरी आकाश खुलेको थियो ।
नामजस्तै बादलडाँडालाई बादलले ढपक्कै ढाकेपछि वरपरको दृश्य छेकिन्छ । दिउँसोदेखि अलिअलि खस्न थालेको हिउँले बिहान बाटो पूरै ढाकिसकेको हुन्छ । ठाडो पहिरो तीरैतीर जाने गोरेटोको अर्कोतिर चट्टान छ । हाइक्याम्प (३,५५० मी.) वृक्षरेखाभन्दा माथि छ । भ्यूप्वाइन्टबाट जाँदै गर्दा तल उडेको हुस्सुले सबै छेकिदिन्छ । तर, मर्दी आधार शिविर (४,५०० मी.) पुग्न अझै दुईघण्टा लाग्छ ।
आएकै बाटोभन्दा फरक बाटो हिंड्न चाहनेका लागि सीधा ओरालो लागेर सिदिङ (१,७०० मी.) पुग्ने बाटो पनि छ, त्यहाँबाट पोखरासम्म पुग्न जीप पाइन्छ । अझै पैदलयात्रा गर्ने मन भए ल्वाङ वा लुम्रेसम्म पुग्न सकिन्छ । नेपालमा समशीतोष्ण क्षेत्रबाट चार दिन पैदल उकालो लाग्दा हिमालसम्मै पुगिने केही रमाइला पदमार्गहरु छन् जहाँ तपाईं आफ्ना नसा तन्काउँदै प्रकृतिको आनन्द लिन सक्नुहुन्छ, विलक्षण दृश्यपान त पाइन्छ नै ।