काभ्रेमा प्याराग्लाइडिङ सहितको विहावर पर्यटन महोत्सव
काभ्रेको पनौती नगरपालिकास्थित विहावर क्षेत्रमा पर्यटन महोत्सव हुने भएको छ ।
कुशादेवी क्षेत्र सरोकार समाजको आयोजनामा यही वैशाख १५, १६ र १७ गते महोत्सव आयोजना हुन लागेको हो ।
गुर्दुमडाँडाबाट प्याराग्लाइडिङको उडान गरी शुरु हुने महोत्सवमा साइक्लिङ, हाइकिङ, म्याराथन तथा विभिन्न सांस्कृतिक कार्यक्रम गरिने आयोजकले जनाएको छ ।
यसअघि नै गुर्दुमडाँडाबाट प्याराग्लाइडिङको परीक्षण उडान भई नियमित उडानका लागि अनुमति लिइसकिएको कुशादेवी क्षेत्र सरोकार समाजका सचिव पुरुषोत्तम अधिकारीले जानकारी दिए ।
विहावर क्षेत्रलाई पर्यटनको नयाँ गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको अधिकारीले बताए ।
महोत्सवको पहिलो दिन १५ वैशाख बिहान कुशादेवीको चालीसेबाट हाइकिङ र दिउँसो प्याराग्लाइडिङ उडान, १६ वैशाखमा पनौती नगरपालिका– ३ पशुपति मन्दिरबाट म्याराथन र १७ वैशाखमा कुशादेवी मन्दिरबाट साइक्लिङको कार्यक्रम आयोजना गरिएकोे छ ।
१५ वैशाखमा पर्यटन मन्त्री रविन्द्र अधिकारी र सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले उद्घाटन गर्ने महोत्सवमा ट्राउट माछा, अग्र्यानिक मह, दूधका विभिन्न परिकार, ढिंडो, गुन्द्रुक, मकैका पिठोका परिकार, विहावर भेगमा उत्पादन हुने तरकारी तथा फलफूल र तिनका परिकारका स्टल प्रदर्शनमा रहने महोत्सव आयोजना मूल समारोहका सचिव श्रीकृष्ण थापाले बताए ।
क्याप्टेन रामेश्वर थापा संयोजक रहेको विहावर क्षेत्र पर्यटन महोत्सव मूल समारोह समितिले महोत्सवमा सहभागी हुन सबैलाई आग्रह गरेको छ ।