प्रधानमन्त्री दाहालको पहिलो निर्णयः ‘गरिबका लागि सरकार’
प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यभार सम्हाले लगत्तै ‘गरिबका लागि सरकार’ नामक विशेष अभियान सञ्चालन गर्न सम्बन्धित मन्त्रालयहरुलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री कार्यालयका अनुसार दाहालले गरेको पहिलो निर्णयमा ‘पहिचानको क्रममा रहेका गरिब घरपरिवारहरुको पहिचान कार्य सम्पन्न गरी उनीहरुको जीवनस्तर उकास्न गरिबका लागि सरकार नामक विशेष अभियान सञ्चालन गरी आय आर्जन, शिक्षा, स्वास्थ्य बिमा, तालिम र प्रविधि हस्तान्तरण, रोजगार तथा स्वरोजगार, बैंक तथा बजारसँग एकीकरण र खाद्द सुरक्षा जस्ता कार्यक्रमहरु कार्यान्वयन गर्ने’ उल्लेख छ ।
त्यसैगरी भूकम्पबाट प्रभावित ३१ जिल्लाका प्रभावित परिवारलाई अनुदानको पहिलो किस्ता ४५ दिनभित्र वितरण गर्ने, चिकित्सक नपुगेका प्राथमिक स्वास्थ्य केन्द्रहरुमा तीन महीनाभित्र चिकित्सक पठाइसक्ने लगायतका निर्णयहरु दाहालले गरेका छन् ।
कार्यभार सम्हाले लगत्तै सञ्चारकर्मीहरुसँग दाहालले आफू १० वर्षे अनुभवले परिपक्व भएको र जनहितका काम गर्नका लागि प्रधानमन्त्री बनेको बताए ।
उनले संविधानको सर्वस्वीकार्यता र कार्यान्वयन साथै भूकम्पपछिको पुनःनिर्माणमा विशेष ध्यान दिने पनि बताए ।
कपिल भट्ट, काठमाडौं