एनआईसी एशियासँग कारोबार बन्द गर्ने २७ वाणिज्य ब्यांकको निर्णय
२७ वाणिज्य ब्यांकले एनआईसी एशिया ब्यांकसँगको अन्तर ब्यांक कारोबार बन्द गर्ने निर्णय गरेका छन् ।
नेपाल ब्यांकर्स संघको शुक्रबार बसेको आकस्मिक बैठकले एनआईसी एशियासँगको कारोबार बन्दको निर्णय गरेको हो ।
एनआईसी एशियाकाे बचत र मुद्दती निक्षेपमा ग्राहकहरुलाई दिने ब्याजदरले तोकिएको सीमा उल्लंघन गरेको भन्दै अन्य ब्यांकहरुले यस्तो कदम चालेका हुन् ।
यसअघि, संघले बचत खातामा ८ र अन्य मुद्दती खातामा ११ प्रतिशतभन्दा बढी ब्याज नदिने सहमति गरेका थिए ।
तर, एनआईसी एशियाले यसको उल्लंघन गर्दै बचतमा १० र मुद्दती खातामा १२ प्रतिशत ब्याज दिने सूचना प्रकाशित गरेको भन्दै संघले कारोबार रोक्काको निर्णय गरेको हो ।
संघको यो निर्णयसँगै अब एनआईसी एशियाले तरलताको व्यवस्थापनका लागि राष्ट्र ब्यांकको भर पर्नुपर्नेछ । गत कात्तिकदेखि वाणिज्य ब्यांकहरुले लगानीयोग्य पुँजीको अभाव (क्रेडिट क्रन्च) को समस्या भोगिरहेका छन् ।