जहाँ पुरूषलाई २५ प्रतिशत आरक्षण छ
विभिन्न निकायहरुमा महिलाको प्रतिनिधित्व वृद्धिका लागि ३३ प्रतिशत आरक्षणको व्यवस्था छ । यही व्यवस्थाका कारण राज्यका विभिन्न निकायहरुमा महिलाको प्रतिनिधित्वमा उल्लेख्य रुपमा वृद्धि भइरहेको छ ।
केन्द्रीय तथा प्रादेशिक संसद् तथा स्थानीय तहमा महिलाको प्रतिनिधित्व वृद्धि हुनुमा आरक्षणको भूमिका महत्वपूर्ण मानिन्छ ।
तर, नेपालमा एउटा संस्था छ जहाँ पुरुषका लागि २५ प्रतिशत प्रतिनिधित्वको ग्यारेण्टी गरिएको छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले आफ्नो संगठनको महिला केन्द्रित कार्यक्रमहरुमा २५ प्रतिशत पुरुषको अनिवार्य प्रतिनिधित्वको नीतिगत व्यवस्था नै गरेको छ ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा जिफन्टले आज काठमाडौंमा आयोजना गरेको सातौं श्रमिक राष्ट्रिय महिला सम्मेलनका २४८ सहभागी मध्ये एक तिहाई पुरुष प्रतिनिधि छन् ।
आजको कार्यक्रममा सहभागी पुरुषले महिलाको अधिकार स्थापित गर्न आगामी दिनमा गर्नुपर्ने कामका बारेमा आफ्नो धारणा राखे, छलफलमा भाग लिए र आफूहरु पनि महिलाको समान प्रतिनिधित्वका लागि कटिवद्ध रहेको प्रतिवद्धता जनाए ।
“अल्पसंख्यक हुँदा कस्तो अनुभूति हुँदो रहेछ भन्ने अनुभुत गराउन जिफन्टले महिला सम्बन्धी कार्यक्रममा महिला ७५ प्रतिशत र पुरुष २५ प्रतिशत प्रतिनिधि बनाउने विधि अवलम्वन गरेको हो” प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार समेत रहेका जिफन्ट अध्यक्ष विष्णु रिमालले भने, “यसले पुरुषमा महिलाका विषयलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन गर्न सहयोग गरेको छ ।”
जिफन्ट महासचिव विष्णु लम्साल नीतिनिर्माण तहमा पुरुषको बोलवाला रहेको अवस्थामा शुरु गरिएको उक्त अवधारणाले पुरुषलाई पनि महिला अधिकारका विषयमा सचेत हुन प्रेरित गर्ने दाबी गर्छन ।
कार्यक्रममा आइएलओका नेपाल प्रमुख रिचर्ड हावर्डले नेपालमा महिलाको नीति निर्माण तहमा भइरहेको सहभागिता एशियाकै लागि उदाहरणीय भएको धारणा राखे ।
उनले उच्च तहमा महिलाको उपस्थिति बढ्नु देशको उज्वल भविष्यको संकेत भएको भन्दै केन्द्रीय संसद, प्रदेशसभा, स्थानीय तहमा पनि उल्लेख्य रुपमा महिला प्रतिनिधित्व देखिएकोमा खुशी व्यक्त गरे ।