नर्भिक अस्पतालको आपत्ति
हिमालखबर डटकममा मा १८ फागुनमा प्रकाशित ‘नर्भिकमा बिरामी नहेरी मेडिकल रिपोर्ट’ भन्ने समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
समाचारमा उल्लेख भएअनुसार बिरामी नै नहेरी बिरामीलाई डिमेन्सिया रोग भएको प्रमाणित गरेको, बिरामीको मुखै नहेरी मेडिकल रिपोर्ट बनाएको भन्ने सूचना सरासर झूट र भ्रामक हो । ९० वर्षीया श्रीमती रुद्रकुमारी शाह विगत लामो समयदेखि नर्भिकमा वरिष्ठ स्नायुरोग विशेषज्ञ डा. पंकज जलानको बिरामी रहेर उपचाररत् छिन् । शाहले डा. जलानलाई जचाउँदै आएको २५औं पटक भन्दा बढी भइसकेको कुरा चिकित्सकीय एवम् निदानात्मक रिपोर्ट र हस्पिटलमा जँचाउँदै गर्दाको सी.सी.टि.भी. फुटेजबाट समेत प्रष्ट हुन्छ । यदि रुद्रकुमारी शाहलाई डिमेन्सिया नभएको भए घरमै २४ सै घण्टा नर्सिङ सेवाको जरुरत किन पथ्र्यो ? चिकित्सकले डिमेन्सिया रोग रोकथामका लागि किन औषधोपचार गर्नुपथ्र्यो ?
त्यस्तै रुद्रकुमारी शाहका पति ९३ वर्षीय श्रीजंग शाह लामो समयदेखि मुटुजन्य रोगले ग्रसित रहेकै कारण वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. यादवदेव भट्टसँग नियमित जँचाउँदै आएको तथ्य हस्पिटलको रेकर्डबाट स्पष्ट हुन्छ । एकातर्फ उमेरले ९० काटिसकेको र अर्कोतर्फ आफ्ना मातापिताको स्मरण शक्ति नभएको बताउँदै एकाघरका परिवारले बारम्बार औषधोपचार गर्न अनुरोध गर्दा चिकित्सकले जाँचपडताल गर्नु स्वाभाविकै हो । उमेरले ९० काटिसकेपछि रोगमुक्त रहेका व्यक्तिमा समेत स्मरण शक्ति क्षीण रहन्छ नै । त्यसमा पनि निज रुद्रकुमारीमा त डिमेन्सिया रोग प्रमाणित भई लामो समयदेखि नियमित औषधोपचार चलिआएकै हो ।
चिकित्सा सेवा जस्तो पवित्र एवम् मानवीय कार्यविरुद्ध यस्ताखाले समाचार जनमानसमा जानु साँचो अर्थमा चिकित्सकीय मर्यादा तथा पवित्र पेशालाई बद्नाम गराउने कुण्ठित र दूषित प्रयास मात्रै हो । हिमाल जस्तो प्रतिष्ठित मिडियाले एकपक्षीय रूपमा यस्तो समाचार प्रकाशित गर्नु उक्त मिडियाको विश्वसनीयतामा क्षयीकरण हुनु हो । उक्त समाचारको हामी जोडदार खण्डन गर्दछौं
आरपी मैनाली
नायब महाप्रबन्धक– संस्थागत संचार
सम्बन्धित समाचार
नर्भिकमा बिरामी नहेरी मेडिकल रिपोर्ट