जोगाऊँ ठेकी फल
कमल मादेन
दुर्लभ ठेकी फल जोगाउन अब वनस्पति विभागले नै हातपाउ चलाउनुपर्ने देखिएको छ।
२०३० देखि २०४० सालसम्म कहिलेकाहीं ठेकी फल खाइन्थ्यो । सन् २००५ मा लन्डनको न्याचुरल हिष्ट्री म्युजियम पुगेपछि यसको वैज्ञानिक नाम एल्फोन्सिया भेन्ट्रिकोसा हो भन्ने थाहा भयो ।
त्यसपछि सन् २००८ मा भारतीय जर्नल प्लियुन (वर्ष २, अंक २) मा ‘एल्फोन्सिया भेन्ट्रिकोसाः न्यू रेकर्ड फर दी फ्लोरा अफ नेपाल’ शीर्षकमा एउटा संक्षिप्त लेख पनि छपाएको थिएँ ।
एल्फोन्सिया भेन्ट्रिकोसा नेपाल र भारतका केही ठाउँमा विरल मात्रामा पाइन्छ । यसको सुरिलो रूख ३०–३५ मिटरसम्म अग्लो हुन्छ । फागुनमा फूल लागेर असार साउनमा फल पाक्छ । एउटा झुप्पामा ४ देखि ८ वटासम्म पहेंलो, खैरो रंगको फल हुन्छ ।
ठेकी आकारको फल झण्डै हत्केलाभरिको हुन्छ । आकारकै कारण फलको नेपाली नाम ठेकी फल रहेको बुझिन्छ । पाकेको फलको खाने भाग घिउजस्तो हुने भएकाले स्वादिष्ट त हुने नै भयो । यसमा हल्का बास्ना पनि हुन्छ ।
पूर्वी नेपालको चारकोसे जंगलका सिमसार छेउछाउ ठेकी फलका एकाध रूख बचेको अनुमान गर्न सकिन्छ । यसबारे नेपालका अधिकांश वनस्पति विज्ञानका जिज्ञासु बेखबर छन् । यो वनस्पतिको नमूना संकलन गरिएको ठाउँमा अहिले यसको एउटा मात्रै रूख छ । त्यो रूख ढल्यो वा नासियो भने नेपालको अर्को कुन ठाउँमा पाइएला, सम्भवतः कसैलाई थाहा छैन । पहिले थियो, अहिले पाइँदैन भन्ने अवस्था आउला !
जम्मा एउटा रूख
एल्फोन्सिया भेन्ट्रिकोसाको पहिलो वैज्ञानिक अध्ययन विलियम रक्सबर्घ (सन् १७५३–१८१५) ले गरेका थिए । उनले फ्लोरा इन्डिका मा यसको वैज्ञानिक नाम उभारिया भेन्ट्रिकोसा लेखेका छन् ।
जेडी हूकर र थोमस थम्सनले सन् १८५५ मा लेखेको फ्लोरा इन्डिका शीर्षककै पुस्तकको खण्ड १ (पृष्ठ १५२–१५३) मा यसको वानस्पतिक नाम एल्फोन्सिया भेन्ट्रिकोसा लेखे । उभारिया झडीदार लहरे वनस्पति हो, तर ठेकी फल रूख भएकोले अहिलेसम्म हूकरले गरेको नामकरण सही मानिएको छ ।
एल्फोन्सिया भेन्ट्रिकोसा प्रजाति भारतको बिहार, उत्तर बंगाल, आसाम, मेघालय, झारखण्ड, नागाल्याण्ड, उडिसा, त्रिपुरा र बंगलादेशमा अत्यन्त कम रहेको अभिलेख पाइन्छ । भारतभर एल्फोन्सिया जिनसका पाँच प्रजाति पाइन्छन् ।
चार दशकअघि यो प्रजातिका चारवटा रूख सुनसरीस्थित अहिलेको कुमरखत सामुदायिक वनअन्तर्गत कचराखोला नजिकको जंगलमा पाइएका थिए । सेउती पूर्वको कुवँरकाजी बाँधसँग जोडिएको जंगलमा पनि यसका दुई रूख थिए ।
त्यसबेला अन्यत्र पनि ठेकी फलका रूख थिए होलान् । अहिले भने कचराखोला नजिक एउटा मात्र रूख बाँकी छ । त्यहाँ फडानी गरेर बसेको सानो बस्तीका मानिसहरू त्यस भेगमा ठेकी फलको अरू रूख नपाइने बताउँछन् ।
स्नातकोत्तर तहको शोधका क्रममा यो पंक्तिकारले कोशी अञ्चलमा खान हुने जंगली फल सम्बन्धी अध्ययन–अनुसन्धान गरेको थियो । त्यसबेला ठेकी फलको नमूना संकलन गरे पनि वैज्ञानिक नाम थाहा पाउन नसक्दा शोधपत्रमा समावेश हुन पाएन ।
डा. केशवराज राजभण्डारी, डा. खेमराज भट्टराई र डा. सुशिमरञ्जन बरालद्वारा सम्पादित क्याटलग अफ नेप्लिज फ्लावरिङ प्लान्टस् भाग २ (सन् २०११) मा नेपालमा एल्फोन्सिया भेन्ट्रिकोसा पाइन्छ भन्ने जानकारी सूचीकृत गरिएको छ । हाम्रो राष्ट्रिय हर्वारियम तथा वनस्पति प्रयोगशालामा सन् २००५ मा संकलन गरिएको एउटै मात्र नमूना संग्रहित छ ।
अपूरो नेपाल फ्लोरा
रोयल बोटानिकल गार्डेन, इडिनबर्गले सन् २०१३ मा प्रकाशन गरेको फ्लोरा अफ नेपाल को खण्ड ३ मा राष्ट्रिय हर्वारियम तथा वनस्पति प्रयोगशाला गोदावरीका वनस्पतिविद् पुरनप्रसाद कुर्मीको लेख समेटिएको छ ।
त्यसमा कुर्मीले एन्नोनेसी परिवारका ११ वनस्पति प्रजाति नेपालमा पाइने उल्लेख गर्र्दै सबैको वृत्तान्त लेखेका छन् । उनले एन्नोनेसी परिवारकै एल्फोन्सिया भेन्ट्रिकोसा भने छुटाएका छन् ।
तिनै कुर्मी र डा. केशवराज राजभण्डारीको संयुक्त लेखन रहेको क्याटलग अफ नेप्लिज फ्लावरिङ प्लान्टस् भाग २ (सन् २०११) मा एन्नोनेसी परिवारबारे लेखेका छन् ।
क्याटलग अफ नेप्लिज फ्लावरिङ प्लान्टस् भाग २ थोरै जानकारीसहित वनस्पतिको सूची समेटिएको पुस्तक हो । तर, फ्लोरा अफ नेपाल समुच्च जानकारी लेखिनुपर्ने वनस्पतिको बृहत् ग्रन्थ हो ।
कुर्मीले एल्फोन्सिया भेन्ट्रिकोसाको महाभारत लेखिरहने झ्न्झ्ट भन्दा त्यस प्रजातिलाई नै हटाउन सजिलो ठानेको अनुमान लगाउन सकिन्छ । अर्थात्, फ्लोरा अफ नेपाल प्रकाशन अघि हुनुपर्ने जति काम भएन र ग्रन्थ अपूरो जस्तो भयो ।
रोयल बोटानिकल गार्डेन, इडिनबर्गले पनि फ्लोरा अफ नेपाल को नेपालतर्फका सम्पादकलाई सम्पादनमा संलग्न गराएको बुझिदैन । यसले नेपालको वनस्पति सम्बन्धी लेखनलाई झरा टार्ने काम जस्तो बनाएको देखिन्छ । फ्लोरा अफ नेपाल को सम्पादकमा नेपालका डा. केशवराज राजभण्डारी र डा. कृष्णकुमार श्रेष्ठ समावेश छन् ।
सम्पादक मण्डलमा डा. सुशिमरञ्जन बराल, डा. दिनेशराज भुजु र डा. रामप्रसाद चौधरी छन् । नेपाली वनस्पतिविज्ञ त सजाउन राखिएको जस्तो मात्र देखिन्छ, सबै काम इडिनबराबाटै भइरहेको छ । नत्र, केशवराज राजभण्डारी जस्ता विज्ञको आँखाले फ्लोरा अफ नेपाल भाग ३ मा एल्फोन्सिया भेन्ट्रिकोसा नपरेको नदेख्ने कुरै थिएन ।
नेपाली विज्ञहरू फ्लोरा अफ नेपाल को देखावटी सम्पादक मात्र हुनुमा यो परियोजनाको मुख्य साझेदार नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नाष्ट) को मुख्य कमजोरी रहेको लुक्न सकेको छैन । यो परियोजनामा नाष्टले कहिल्यै चासो दिएको छैन । यसको मुख्य कारण नाष्टमा सिद्धहस्त वनस्पतिविद् नहुनु हो । नाष्टले फ्लोरा अफ नेपाल परियोजना नेपालको निम्ति नभई विदेशीको लागि लिइदिएको बुझ्न्छि ।
वनस्पति विभागलाई सल्लाह
वनस्पति विभागले ए ह्यान्डबूक अफ दी फ्लावरिङ प्लान्टस् अफ नेपाल, खण्ड–१ (सन् २०१७) मा एल्फोन्सिया भेन्ट्रिकोसालाई सचित्र समावेश गरेर सलामयोग्य काम गरेको छ । अब विभागले यसलाई अति संकटापन्न मानेर तुरुन्त सर्वेक्षण गर्न अनुसन्धानकर्ता खटाउनु बुद्धिमानी हुनेछ ।
यो किन फैलन सकेन ? यसको बीउ उम्रन नसक्नुको कारण के हुन सक्छ ? अध्ययन–अनुसन्धान पनि थालिहाल्नुपर्छ । टिस्यु कल्चर विधिबाट एल्फोन्सिया भेन्ट्रिकोसाको बेर्ना तयार गर्न सकिन्छ कि ? लेखेर वा कुरा गरेर मात्र दुर्लभ वनस्पति जोगाउन नसकिने हुनाले तत्काल काम थाल्नुको विकल्प देखिन्न ।