पार्किङस्थल विनाको शहर
पाँच पटकसम्म देशकै उत्कृष्ट नगर घोषित र प्रदेश–५ को अस्थायी राजधानी समेत तोकिएको बुटवलमा पार्किङको ठूलो दुःख छ।
राष्ट्रिय गौरवका ठूला आयोजना निर्माण भइरहेको रूपन्देहीको बुटवल शहरले विकासमा फड्को मारिरहेको छ । शहरमा ठूल्ठूला भौतिक संरचना र पूर्वाधार छन् । यही कारणले पनि प्रदेशको अस्थायी राजधानी रोजिएको बुटवलमा यौटा पनि व्यवस्थित पार्किङस्थल छैन ।
सिद्धार्थ राजमार्गलाई ६ लेनमा विस्तार गर्दा दायाँ–बायाँका अधिकांश घर भत्किए । नभत्किएकाहरू राजमार्गमै टाँसिंदा न फूटपाथ बच्यो न पार्किङस्थल रहे । पश्चिम नेपाल बस व्यवसायी संघका महासचिव जीवनकुमार बञ्जाडे एक–दुई वर्षमा बुटवलमा कसैले गाडी अड्याउन सक्ने अवस्था रहने देख्दैनन् ।
बस, ट्रक जस्ता ठूला सवारी साधन र निजी कार, जीप, मोटरसाइकलदेखि रिक्सासम्म सडकमै पार्क गर्दा अहिले नै दुर्घटना बढेको छ । शहरमा बन्दै गरेका एकाध पाँचतारे होटल बाहेक अन्यमा भूमिगत पार्किङस्थल छैन ।
बुटवलमा प्रधान कार्यालय रहेको पश्चिम नेपाल बस व्यवसायी संघसँग देशमै सबभन्दा धेरै २ हजार ३९६ वटा बस छन् । ती बस पार्किङ गर्ने ठाउँ भने छैन । भएको एउटा टर्मिनलबाट दैनिक पालो परेका ११०० बस छुट्छन् र त्यत्तिकै संख्यामा अन्यत्रबाट आउँछन् ।
मैनाबगरमा भाडाको पार्किङस्थल भए पनि त्यो पर्याप्त र पायकमा छैन । बस व्यवसायीहरू आ–आफ्ना घरछेउ र भित्री शहरमा खाली ठाउँ खोजेर बस राख्छन् ।
बस व्यवसायी संघका महासचिव बञ्जाडे स्थायी पार्किङ नहुँदा सबै हैरान भएको बताउँछन् । सिद्धार्थ यातायात, बुटवल यातायातलगायत समितिहरूका पनि दैनिक १५०० बस बुटवलमा गुड्छन् । देशकै सबभन्दा ठूलो ढुवानी सञ्जाल सञ्चालन गर्ने पश्चिमाञ्चल ट्रक व्यवसायी समिति पनि बुटवलमै छ ।
समितिद्वारा सञ्चालित २२०० ट्रक पनि बसहरू जस्तै साहूको घर वरपर, अरूको खाली जग्गा र सडक किनारमै पार्किङ गरिन्छ । समितिका अध्यक्ष टीकाराम गौतम सुनौली नाकाका कारण थपिने अधिकांश ट्रक बुटवल क्षेत्रमा पार्किङ हुने बताउँछन् । ढुवानीमा नहिंडेका ट्रकहरू राख्ने ठाउँ नहुँदा व्यवसायीहरू चौबिसै घन्टा तनावमा रहेको उनले बताए ।
पार्किङस्थलको अभावमा शहरको ट्राफिक व्यवस्थापन भद्रगोल हुने नै भयो । शहरमा ट्राफिक व्यवस्थापन भद्रगोल बनाउने पछिल्लो कारक बनेका छन्, चार हजारभन्दा बढी ई–रिक्सा ।
बेरोकटोक गुड्ने यस्ता रिक्साले भित्री सडकहरू समेत जाम पार्ने गरेका छन् । दर्ता र व्यवस्थापनको कुनै मापदण्ड नभई चलेका ई–रिक्साले बुटवलमा ट्राफिक अराजकता थपेको छ ।
बुटवलको व्यस्त बसपार्क अगाडि सरकारको आन्तरिक राजश्व कार्यालय छ । दैनिक आउने सयौं सेवाग्राहीका सवारी साधन पार्किङ गर्ने ठाउँ भने नभएकोले कार्यालय र राजमार्गबीचको पेटी बाध्यताको विकल्प बनेको छ, भलै त्यहाँ नो पार्किङ लेखिएको किन नहोस् ।
राजश्व बुझाउन मोटरसाइकलमा आएका बुटवल–९ का सेवाग्राही सञ्जय अधिकारी भन्छन्, “पेटीमा पनि ठाउँ छैन, सडकमा राखे ट्राफिक प्रहरीले सिट्ठी फुकिहाल्छन् ।”
बुटवल उपमहानगरपालिका कार्यालयमै पनि यस्तो समस्या विकराल छ । अत्यधिक सेवाग्राहीको आउ–जाउ हुने कार्यालय परिसरमा रहेको सानो पार्किङस्थलमा कर्मचारीहरूकै सवारी साधन समेत अटाउँदैनन् । सेवाग्राहीका सवारी साधन बाहिर सडकपेटीमा ठेलमठेल गरेर राखिएका हुन्छन् ।
त्यहाँबाट केही मिटर पर रहेको नेपाल टेलिकममा उस्तै सास्ती देखिन्छ । कर्मचारी बाहेकका साधनलाई भित्र छिर्न दिइँदैन, बाहिर व्यस्त बजार छ । सवारी साधन प्रयोग गर्ने सेवाग्राही शहरको जुन भागमा गए पनि पार्किङको तनावमा हुन्छन् ।
होटल, ब्यांक, व्यावसायिक प्रतिष्ठान जता जाँदा पनि पार्किङको दुःख छ । ट्राफिक प्रहरीले भित्री बजारका सडकहरूमा साता दिन बिराएर वारि–पारि पार्किङ गर्ने नियम लागू गर्दा कारोबार प्रभावित भएर व्यवसायीहरू हैरान छन् । हप्ता दिनसम्म पसल छेक्ने गरी सवारी साधन राखिदिंदा ग्राहक आउने बाटै नहुने उनीहरू बताउँछन् ।
बुटवल उप–महानगरपालिका प्रमुख शिव सुवेदी दीर्घकालीन समाधानका लागि ठूल्ठूला पार्किङस्थल आवश्यक भएको बताउँछन् । बालमन्दिर परिसर र हाटबजारमा ठूला पार्किङ बनाउनेबारे सोचविचार भइरहेको उनले बताए । “मुख्य सडकमा सवारी चाप घटाउन आन्तरिक वाइपास बनाउँछौं” नगर प्रमुख सुवेदी भन्छन्, “पश्चिम क्षेत्रमा योगीकुटीदेखि कालिकानगर, ईंटाभट्टाहुदै नेपालगञ्ज रोडसम्मको सडक चार लेन बनाउँछौं ।”
त्यसका लागि नगरपालिकाले रु.६३ करोड विनियोजन गरेको छ । त्यस्तै, पूर्वी क्षेत्रमा अस्पताल लाइनबाट श्रवणपथहुँदै रामनगर जोड्ने सडक फराकिलो पार्न रु.२५ लाख छुट्याइएको छ । यी दुई सडक निर्माणले ठूला साधनका लागि पनि वाइपासको काम गर्ने नगरप्रमुख सुवेदी बताउँछन् ।
दीपक ज्ञवाली, बुटवल