राष्ट्रिय आविष्कार केन्द्र सञ्चालन गरिछाड्छु: महावीर पुन
समाजसेवी महावीर पुन राष्ट्रिय आविष्कार केन्द्रको निर्माणमा सरकारले सहयोग नगरेपछि चन्दा सङ्कलनमा जुटेका छन् ।
केन्द्र निर्माणका लागि आफ्नो पोखरास्थित २८ रोपनी जग्गा दिएर चन्दा शुरुवात गरेका उनले नेपालीको आर्थिक विकासलाई ध्यान दिँदै राष्ट्रिय आविष्कार केन्द्र सञ्चालन गर्न अब चन्दाको विकल्प नरहेको बताए ।
रफत सञ्चार क्लबले भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पुनले सरकारले नास्टमा कर्मचारीलाई तलब खुवाउने बाहेक अन्य काम नगरेको र विज्ञान मन्त्रालयले नेपालको विज्ञानका क्षेत्रमा कुनै परिवर्तन गर्न नसकेको बताए ।
पुनले भने, “जुनसुकै सरकारले पनि आश्वासन मात्रै दिए, सरकारले गर्नुपर्ने काम हामीले गर्न खोज्दा पनि बजेट नपाएपछि म र साथीहरु मिलेर पोखरामा किनेको २८ रोपनी जग्गा केन्द्रलाई दियौँ, अरु बजेट जुटाउन चन्दा खोज्दैछौँ ।”
केन्द्र सञ्चालनका लागि केन्द्रले १० मेगावाटको जलविद्युत् सञ्चालन गर्न चाहेको भन्दै उनले त्यसका लागि सरकारसँग अनुमतिपत्र माग गरिएको जानकारी दिए ।
पुनले नेपालमा भएका सम्भावनाको खोजी गरेर त्यसलाई बजारसम्म ल्याउन केन्द्रले सहयोगी भूमिका खेल्नाका साथै केन्द्रमा पढेलेखेकाले मात्र नभएर ज्ञान र सीप भएकाले नेपालका लागि योगदान दिन सक्ने बताएका थिए ।