प्रदेश ३ को सभामुखमा सानुकुमार श्रेष्ठ निर्विरोध
प्रदेश ३ को सभामुखमा एमालेका सानुकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्।
प्रदेश नं ३ को अस्थायी मुकाम हेटौँडामा आज बसेको प्रदेशसभाको दोस्रो बैठकमा सभामुखमा श्रेष्ठको मात्र एक्लो उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन्।
श्रेष्ठ प्रदेशसभा सदस्यको निर्वाचनमा काठमाडौँ क्षेत्र २ प्रदेशसभा (क) बाट निर्वाचित भएका हुन् । एमाले वैकल्पिक पोलिटब्यूरो सदस्य श्रेष्ठले वामगठबन्धनबाट उम्मेदवारी दिएका थिए ।
कूल ११० सदस्य रहेको प्रदेश ३ मा एमाले एक्लैको बहुमत (५८ सदस्य) पुग्छ । श्रेष्ठ एमालेको वैकल्पिक पोलिटब्यूरो सदस्य, उपत्यका इञ्चार्ज र प्रदेशको प्रचार विभाग प्रमुख समेत हुन्।
विसं २०१६ मा कीर्तिपुरको मच्छेगाउँमा जन्मिएका श्रेष्ठ हाल नरेफाँट (कोटेश्वर) मा बस्छन् । उनले अर्थशास्त्रमा स्नातक तथा राजनीतिशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् ।
काठमाडौँ जिल्ला विकास समितिका पूर्वसभापति श्रेष्ठ २०६४ को संविधानसभाको पहिलो निर्वाचनमा काठमाडौँ क्षेत्र नं १० मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका प्रतिस्पर्धी थिए ।
सुरजकुमार भूजेल, हेटौडा