माथिल्लो त्रिशूली–१ को पीपीए डलरमा
नेपाल विद्युत् प्राधिकरणले २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलप्मेन्ट कम्पनी प्रा.लिसँग विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गर्ने निर्णय गरेको छ ।
प्राधिकरण सञ्चालक समितिको १० माघको बैठकले गरेको निर्णयअनुसार आज, ११ माघमा पत्रकार सम्मेलन गर्दै पीपीए सम्झौताको बारेमा जानकारी गराइएको हो ।
आयोजनामा कोरियन कम्पनीहरु, विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) र नेपाली लगानीकर्ताको लगानी रहनेछ ।
कम्पनीले परफरमेन्स ग्यारेन्टीबापत रु. २१ करोड ६० लाख बुझाएपछि पीपीएमा हस्ताक्षर हुनेछ ।
माथिल्लो त्रिशूली–१ सँग डलरमा पीपीए गर्दा विदेशी मुद्रा विनिमय जोखिम व्यहोर्न एक कोष स्थापना गरिने छ ।
यसअघि नेपाल विद्युत् प्राधिकरणले खिम्ती (६० मेगावाट), माथिल्लो भोटेकोसी (४५ मेगावाट, तल्लो सोलु (८२ मेगावाट), माथिल्लो मस्र्याङदी ए (५० मेगावाट), कोबेली ए (३७.६ मेगावाट) र रसुवा–भोटेकोसी (१२० मेगावाट) जलविद्युत् आयोजनाहरुका लागि अमेरिकी डलरमा भुक्तानी गर्ने गरि पीपीए गरेको छ ।