कोशीमा जलचरा वर्षेनी घट्दै
बढ्दो मानव अतिक्रमणका कारण कोशी टप्पुमा चराको संख्या घटिरहे पनि सरकार संवेदनशील देखिन्न।
-कमल रिमाल
जोडी चखेवा । तस्वीर: कमल रिमाल
“सुन्दै अचम्म, चरा पनि गन्न सकिन्छ ?” २२ पुसमा सुनसरीस्थित कोशी टप्पु वन्यजन्तु आरक्ष आइपुगेका नेपाली सेनाको इटहरीस्थित पूर्वी पृतना मुख्यालयका प्रमुख सेनानी इन्द्र कार्की भन्दैथिए ।
अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वेटल्याण्ड इन्टरनेशनलको पहलमा सन् १९८७ मा एशियाका अन्य मुलुकसँगै कोशी टप्पुमा पनि चरा गणना थालिएको हो । यसको निरन्तरतास्वरुप यो वर्ष पनि २२–२४ पुसमा कोशी टप्पु क्षेत्रमा चरा गणना गरियो ।
हिउँ जम्ने ठाउँमा बच्चा कोरल्ने चरा २२ डिसेम्बरसम्ममा तराई झरिसक्ने मान्यताका आधारमा हरेक वर्ष यहीबेला चरा गणना गरिन्छ ।
ओरिएन्टल पाइड हर्नवील । तस्वीर: यात्रा राई
“विश्वभर एकैसाथ गणना गर्दा एक देशबाट अर्को देशमा जाने चरा पुनः गणनामा नपरुन् भरेर यो तरिका अपनाइएको हो”, वेटल्याण्ड इन्टरनेशनलका नेपाल संयोजक चराविद् डा. हेमसागर बराल भन्छन् । पछिल्लो तथ्यांकअनुसार, नेपालमा पाइने ८८४ प्रजातिका चरामध्ये कोशी टप्पुमा मात्र ५२७ प्रजाति पाइन्छन् ।
जाडो छल्न रूसको साइबेरियादेखि कोशी टप्पुसम्म आइपुग्ने चराको गणना सजिलो भने छैन । त्यसैले कोशी टप्पु क्षेत्रका १० स्थानमा फरक फरक टोली बनाई चरा गणक खटिएका छन् ।
जनवरीको दोस्रो र तेस्रो साता देशभरका ५० भन्दा बढी सिमसार र पाँच वटा रामसार क्षेत्रमा चरा गणना हुँदैछ । गणनामा ३०० तालिमप्राप्त गणक परिचालित छन् । सरकार र दातृ संस्थाको नभई स्थानीय संरक्षित क्षेत्र र पर्यटक व्यवसायीको सहयोगमा हरेक वर्ष चरा गणना हुँदै आएको छ ।
गणकहरूले चराको संख्या मात्र नभई चोरी शिकार हुने क्षेत्र र बासस्थानमा मिचाहा प्रजातिको अवस्था पनि राख्ने गरेका छन् ।
गणनामा सहभागी सुनसरी, बराहक्षेत्रकी सम्झना कार्की कोशी टप्पुमा अन्यत्रको तुलनामा एकै ठाउँमा धेरै प्रजातिका चरा देख्न पाइने बताउँछिन् ।
दुईदिने गणनाका क्रममा कोशीमा पाइएका ५० भन्दा बढी प्रजातिका पानीमा रमाउने चरामध्ये चखेवा बढी पाइएको थियो । धान र पानीको लेउ खाने यो चराको संख्या अवैध व्यापारका कारण घट्दो छ ।
कहिल्यै नछुट्ने मानिने चखेवाको जोडीमध्ये एक मारियो भने अर्कोले नखाएरै मर्ने गरेको चराविद्हरू बताउँछन् । कोशी पक्षी समाजका अध्यक्ष अनिष तिम्सिना दुईदिने जलयात्रामा १७ वर्षदेखि नदेखिएको ग्रेटर ह्वाइट फ्रण्टेड गुज देखिएको बताउँछन् ।
वर्षेनि घट्दो
गणना थालिएको ३० वर्षमा चराको संख्या वर्षेनि घटिरहेको छ । “कोशीमा आउने जलचरामध्ये अधिकांश अन्न मात्रै खाने छन्” चरामै विद्यावारिधि गरेका बराल भन्छन्, “नदीको आसपासका खेतमा अन्न खान पाइए मात्रै चरा आउँछन्, पछिल्लो समय खेतीयोग्य जमीनको प्लटिङ्गले पनि चराको आहारा कम भइरहेको छ ।”
बगरमा उडेका चखेवा र पानीहाँस । तस्वीर: कमल रिमाल
बरालका अनुसार, पहिलो पटक माउसँग आएको चरा अर्को पटक बच्चा लिएर त्यही ठाउँमा आउँछ । तर, नेपालमा आहारा नपाएमा अहिले आइरहेका चरा भारततर्फ जाने उनको भनाइ छ ।
चरा गणनामा आएका बर्दियाको प्रकृति संरक्षण क्लबका अध्यक्ष राम शाहीले आरक्षभित्रको नदीमा माछा मार्ने लाइसेन्स पाएकाहरूको आवतजावत र पाल्तु चौपायाको बाक्लो उपस्थितिले चराको बासस्थानमा असर पारेको बताउँछन् ।
चराको तस्वीर खिच्दै विज्ञहरु । तस्वीर: कमल रिमाल
कोशी टप्पु छेउ पर्यटन व्यवसाय गर्दै आएका पक्षीविद् संघ पूर्वाञ्चलका संयोजक बद्री चौधरी आगन्तुक चराको बासस्थान सुरक्षित गर्न नसकिएको बताउँछन् । उनी भन्छन्, “आरक्ष आश्रितहरूलाई नदीमा नजान पोखरी खन्ने र ह्याचरी संचालन गर्न आर्थिक सहयोग पनि गरिएको छ ।”
पर्पल हेरोन । तस्वीर: यात्रा राई
ब्ल्याक आइबीस । तस्वीर: यात्रा राई
चरा गणनाका लागि डुङ्गामा यात्रा गरिंदै । तस्वीर: कमल रिमाल