पहिरोमा परी एक विदेशीसहित चारको मृत्यु
उत्तरी गोरखाको केरौँजा– ९ स्थित उहिया दोभानखण्डमा झरेको पहिरोमा परी आज एक विदेशी नागरिकसहित चार जनाको मृत्यु भएको छ ।
पहिरोमा परी काठमाडौँका दोर्जे लामा र छिरि शेर्पा, ओखलढुङ्गा घर भएकी क्यान नेपाल संस्थामा काम गर्ने रञ्जना वस्नेत र एक स्पेनका नागरिकको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।
पहिरोमा परी चार विदेशी नागरिकसहित ६ जना घाइते भएका छन् । घाइतेको फिष्टेल एयरले उद्धार गरी उपचारका लागि काठमाडौँ लगेको छ । अहिले घटनास्थलमा प्रहरी टोली पुगेर शव निकाल्ने कार्यमा जुटेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनास्थल सदरमुकामदेखि दुई दिनको पैदल दुरीमा पर्छ । गत वर्ष गएको भूकम्पपछि उक्त क्षेत्रमा पहिरो निरन्तर झरिरहेको स्थानीयले बताएका छन् ।
मनास्लु क्षेत्रको पदमार्गका लागि हिँडेका विदेशी पर्यटकसहित नेपाली नागरिक पहिरोमा परेका हुन् ।
रासस