नक्कली प्रमाणपत्र पेश गरेको आरोपमा मुद्दा चलाइएका ८ डाक्टरलाई अदालतद्वारा छुटकारा
चिकित्साशास्त्र अध्ययनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा प्रहरीले मुद्दा दायर गरेका वीरगञ्जका ८ डाक्टरलाई जिल्ला अदालतले छुटकारा दिएको छ ।
पर्सा जिल्ला अदालतका न्यायाधीश महम्मद जुनैद आजादको इजलासले वादीको माग दाबी नठहर्ने भन्दै आठै जना डाक्टरलाई सफाई दिएको अदालतका श्रेस्तेदार ठाकुरप्रसाद खरेलले जानकारी दिए ।
“ठगिने व्यक्ति को हो भन्ने नखुलेको, किर्ते पुष्टी गर्ने आधार नभएको र ठगीको परिभाषाभित्र पनि नपरेको ठहर अदालतले गरेको छ,” श्रेस्तेदार पोखरेलले भने, “अदालतले दोषि करार हुने प्रमाण फेला नपारेको भन्दैसफाई दिएको छ, धरौटी बुझेर उनीहरु गैसकेका छन् ।”
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले ३ असारमा वीरगञ्जमा कार्यरत डाक्टरहरु कुशराज गिरी, सरोज सिंह, पन्नालाल पटेल, दिनेशकुमार तेली, निमेष पाल रमन, रामकुमार प्रधान, इर्सादुल हक, र मो. रबुल्लाहलाई चिकित्साशास्त्र अध्ययन गर्दा बिहार बोर्डको नक्कली सर्टिफिकेट पेश गरी ठगेको आरोपमा पक्राउ गरी पर्सा जिल्ला अदालतमा मुद्दा चलाएको थियो ।
चिकित्सकहरू माथि दायर गरिएको ठगी मुद्दामा पर्सा जिल्ला अदालतले मार्कसिट भेरिफिकेशन टोलीको वकपत्र माग गरेको थियो । दुईपटक पत्रचार गर्दा पनि वादीपक्षका साक्षी प्रतिवेदकहरु नआएपछि पर्सा जिल्ला अदालतले कसुर प्रमाणित हुने आधार नभएको कारण देखाउँदै सफाइ दिएकोे अदालतले जनाएको छ ।
“हामीले अनुसन्धान गरेरै मुद्दा दर्ता गराएका हौं,” नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी ज्ञानेन्द्र फुयाँलले भने, “न्यायिक निर्णयमा टिप्पणी गर्ने कुरो भएन् ।”
उनले सिआईबीले चाल्ने आगामी कदमका बारेमा आफूले बताउन नसक्ने बताए ।
सुरेश बिडारी, वीरगञ्ज