थप समाचार बुधबार, असोज ५, २०७३

अमेरिकी विदेशमन्त्री केरीको नेपाल आउने इच्छा

हिमालखबर

अमेरिकी विदेशमन्त्री जोन केरीले नेपाल भ्रमणको इच्छा व्यक्त गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको ७१ औँ महासभामा भाग लिन न्युयोर्कमा रहेका नेपाली प्रतिनिधिमण्डलका नेता एवम् परराष्ट्रमन्त्री डा प्रकाशरण महतसँग भएको भेटवार्तामा अमेरिकी विदेशमन्त्री केरीले नेपाल आउने इच्छा व्यक्त गरेका हुन् । 

“म अघिल्लो पटक भारत भ्रमण गर्दा नेपाल जान चाहेको थिएँ, त्यतिखेर व्यस्तताले गर्दा मिलेन, अब कुनै उपयुक्त समयमा म नेपालको भ्रमण गर्नेछु, नेपालको विकास र समृद्धिमा अमेरिका सधैँ सहयोग गर्न तयार छ” केरीलाई उद्धृत गर्दै महतले भने । 

अमेरिकी विदेशमन्त्री केरीले नेपालका पर्यटकीय गन्तव्यमध्ये कुनै एक गन्तव्यको पदयात्रा गर्ने इच्छासमेत व्यक्त गरेको उनले जानकारी दिए ।

नेपालको संविधान निर्माणपछिको अवस्थाबारे चासो राख्दै केरीले नेपालका राजनीतिक दल मिलेर लोकतन्त्रलाई संस्थागत गरुन् भन्ने सदीक्षासमेत राखेका थिए । रासस 

 

प्रतिकृया दिनुहोस