सभामुख चीन जाने भएपछि एक दिन अगावै संविधान दिवस!
व्यवस्थापिका संसदका सभामूख ओनसरी घर्ती मगर साताव्यापी चीन भ्रमणमा जाने भएपछि संसद सचिवालयले २ असोजमै चियापान कार्यक्रम आयोजना गर्यो । ३ असोजमा आयोजना गर्नुपर्ने चियापान कार्यक्रम एक दिन अगावै आयोजना गरेको हो ।
संविधान जारी भएको दिन ३ असोजमा संसद्ले कुनै कार्यक्रम राखेको छैन । जबकी संविधानसभाले छोडेर गएका कार्यभार पूरा गर्ने दायित्व रूपान्तरित व्यवस्थापिका संसद्को हो ।
चार दिने औपचारिक भारत भ्रमणबाट आजै फर्केका प्रधानमन्त्री दाहाल ३ असोजमै राष्ट्रसंघीय महासभामा भाग लिन न्यूयोर्क जाँदैछन् । मुलुकको कार्यकारी प्रमुख संघीय गणतन्त्र नेपालको पहिलो संविधान दिवसका दिन देशबाहिर हुनेछन् ।
असंलग्न राष्ट्रहरूको सम्मेलनमा भाग लिन २९ भदौमा भेनेजुएला गएका उपराष्ट्रपति नन्दबहादुर पुन ५ असोजमा मात्रै नेपाल फर्कने कार्यक्रम छ ।
यसैबीच चियापान कार्यक्रममा सभामुख ओनसरी घर्ती मगरले राजनीतिक दलबीच संविधान निर्माणका क्रममा देखिएको सहमति संविधान कार्यान्वयनका बेला झनै आवश्यक भएको बताईन् ।
नयाँबानेश्वरस्थित व्यवस्थापिका–संसद् भवनमा राष्ट्रपति विद्यादेवि भण्डारीको प्रमुख आतिथ्यिमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश सुशील कार्की लगायतका उच्च पदस्थ व्यक्तित्वहरुको उपस्थिति थियो ।
सरकारले २, ३ र ४ असोजमा संविधान दिवस मनाउने घोषणा गरेको छ ।
तस्वीरः विक्रम राई/हिमालखबर