बेल्जियममा पहिलो पटक बालकलाई इच्छित मृत्युको अनुमति
बेल्जियममा एक विरामी बालकलाई स्वेच्छाले मृत्युको अनुमतिको दिइएको छ ।
प्राणघातक रोग लागेका व्यक्तिले स्वेच्छाले मृत्यु रोज्न पाउने कानूनमा उमेरसम्बन्धी बन्देज हटाइएको दुई वर्षपछि ती बालकलाई उनको चाहना अनुसार मृत्युवरणका लागि सघाइएको अधिकारीहरुले जनाएका छन् ।
स्वेच्छाले मृत्यु रोज्न पाउनेसम्बन्धी संघीय आयोगका प्रमुख विम डिस्टलमन्सलाई उद्धृत गर्दै समाचार संस्थाहरुले जनाए अनुसार स्थानीय डाक्टरले गत साता ती बालकको अवस्थाबारे रिपोर्ट गरेका थिए । उनले ती बालक गम्भीर रुपमा बिरामी रहेको बताए पनि बालकको उमेर र लिंग भने बताएनन् ।
विशेष परिस्थितिमा कुनै पनि उमेरका व्यक्तिले स्वेच्छाले मृत्युवरण रोज्न पाउने कानून विश्वभरमा बेल्जियममात्रै छ ।
बेल्जियम र बाहिर पनि २०१४ मा बनेको यो कानूनको अझै आलोचना हुने गरेको छ ।
मृत्यु रोज्ने व्यक्ति रोगको अन्तिम चरणमा पुगेको हुनुपर्ने, १८ वर्षभन्दा कम उमेर भएकाको हकमा उनका बाबुआमाले पनि स्वीकृति दिनुपर्ने हुन्छ ।
यस्तै खाले कानून नेदरल्याण्डसमा समेत भए पनि त्यहाँ गम्भीर रुपमा विरामी बालक यदि १२ वर्षभन्दा बढी उमेरको भएमा मात्रै मृत्यु रोज्न पाउँछन् ।