पद्मश्री साधना र पद्मश्री साहित्य पुरस्कार प्रदान
साहित्यिक पत्रकारितामा क्रियाशिल नगेन्द्रराज शर्मा र रोचक घिमिरेलाई पद्मश्री साधना सम्मान तथा युवा कवि नवराज पराजुलीलाई पद्मश्री साहित्य सम्मान प्रदान गरिएको छ ।
१९ असोजमा एक समारोहको आयोजना गरी खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले उनीहरुलाई यस वर्षको पद्मश्री साधना र पद्मश्री साहित्य सम्मान प्रदान गरेको हो । लामो समयदेखि साहित्यिक पत्रकारितामा सक्रिय शर्मा र घिमिरेलाई संयुक्त रुपमा पद्मश्री साधना सम्मान प्रदान गरिएको हो । २०६७ देखि प्रदान गर्न थालिएको यो पुरस्कारको राशी रु.२ लाख रहेको छ ।
यस अघि राष्ट्रकवि माधवप्रसाद घिमिरे, आख्यानकार मदनमणि दीक्षित, साहित्यकार सत्यमोहन जोशी, साहित्यकार ध्रुवचन्द्र गौतम, कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, कवि वैरागी काइँलालाई पद्मश्री साधना सम्मान प्रदान गरिएको थियो ।
त्यस्तै ‘सगरमाथाको गहिराइ’ कविता कृतिका लागि युवा कवि पराजुलीलाई पद्मश्री साहित्य सम्मान प्रदान गरिएको हो । पराजुलीको ‘सगरमाथाको गहिराइ’सँगै जनकराज सापकोटाको ‘कहर’, कुमार नगरकोटीको ‘घाटमान्डू’, राज सरगमको ‘छाउघर’ र नवीन विभासको ‘रोल्पा सुइना’ पुस्तक मनोनयनमा परेका थिए । २०६३ देखि प्रदान गर्न थालिएको यस पुरस्कारको राशी रु.२ लाख रहेको छ ।
प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले अर्को वर्षदेखि उत्कृष्ट १० कृतिको मनोनयन सूचि घोषणा गरिने बताए । लामिछाने जन्मिएको चितवनको पदमपुर गाउँको नामबाट नै खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले पुरस्कारको नाम 'पद्मश्री' राखेको हो ।