तमलोपा अध्यक्ष ठाकुरको घरबाट ब्रिफकेस लुटियो, छोरी घाइते
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको सानो ठिमीस्थित घरमा एक लुटेराले ब्रिफकेस लुटेर फरार भएको छ ।
गए राति करिब ७:३० बजे मास्क लगाएको अपरिचित व्यक्ति ठाकुरको छोरी र काम गर्ने एक जना केटा मात्रै भएको बेलामा घरमा प्रवेश गरी ठाकुरका ३२ वर्षीया डा मीनाक्षी ठाकुरलाई आक्रमण गरी ब्रिफकेस लुटेर फरार भएको प्रहरीले जनाएको छ ।
घरमा प्रवेश गरी छोरी डा मीनाक्षीको आँखामा खुर्सानी दलेपछि प्रतिकार गर्न खोज्दा धारिलो हतियार प्रहार गर्दा उनी घाइते भएकी छन् ।
हात र टाउकोमा चोट लागेपछि मीनाक्षीको नयाँ बानेश्वरस्थित एभरेस्ट अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एवम् प्रहरी उपरीक्षक किरण बर्जाचार्यले जनकारी दिइन् ।
आक्रमण गरे लगत्तै नकाबधारी व्यक्ति अध्यक्ष ठाकुरको कोठामा पसेर कालो ब्रिफकेस लिएर फरार भएको प्रारम्भिक अनुसन्धानमा खुलेको उनले बताइन् ।
प्रहरीले फरार व्यक्तिको खोजी गरिरहेको छ ।