बाबुआमाले छाडेका दिदीभाइको उद्धार
आमाबुबाले छाडेपछि असहाय जस्तै बनेका पूर्वी चितवनको रत्ननगरस्थित माधवपुरका दुई बालबालिका (दिदीभाइ) को उद्धार भएको छ ।
सहाराविहीन भएर गाउँलेको सहयोगमा बस्दै आएका रत्ननगरका आठ वर्षकी सङ्गीता र सात वर्षका लोकज्ञान गोलेलाई अमेरिकाको ‘नेपाल जर्नी’ नामक संस्थाले आवासीय सुविधासहितको शिक्षाका लागि सहयोग गरेपछि उद्धार गरी स्कुलको छात्रावासमा राखिएको छ। उनीहरु कक्षा ४ र २ मा अध्ययनरत छन् ।
उनीहरुलाई आवश्यक कपडा, खाद्यान्न, शैक्षिक सामग्री सहित वासका लागि दुईवटा सुविधायुक्त खाट संस्थाले नै दिएको विद्यालयका प्रधानाध्यापक भीमप्रसाद खनालले बताए । संस्थाले हरेक महिना विद्यालयको खातामा विद्यार्थीका लागि आवश्यक मासिक रकम उपलब्ध गराउने गरी स्कुलसँग सम्झौता भएको खनालले जानकारी दिए।
उनीहरुका बुबा कलु गोले करिब एक वर्षअघि वैदेशिक रोजगारीमा गएपछि आमा सविनाले अर्कैसँग विहे गरेर बालबालिकालाई अलपत्र छोडेकी थिइन् । त्यसपछि गएको फागुनमा दोस्रो बिहे गरेका कालुलाई गत वैशाखमा दोस्री पत्नीले पनि छाडिन् ।
अर्की श्रीमतीले पनि छाडेपछि कालु अहिले बेपत्ता छन् । घरमा बोल्न र सुन्न नसक्ने बालबालिकाका हजुरआमा मात्रै भएकाले उनीहरुको रेखदेख छिमेकीले गर्दै आएका स्थानीय आशिष तामाङले बताए ।
उनीहरुलाई छिमेकी टोपमायाँ गैरेको परिवारले संरक्षण दिँदै आएकोमा अहिले उद्धार गरी शुक्रबारदेखि विद्यालयमा आवासीय रुपमा राख्न थालिएको हो ।
रासस