'भाषाको भाँडभैलो त्रिविले स्वीकार्दैन'
त्रिभुवन विश्वविद्यालयमा नेपाली भाषा विभागका प्रमुख प्रा डा देवीप्रसाद गौतमले भाषा सुधारको नाममा गरिएको परिपत्रलाई त्रिविले स्वीकार नगर्ने घोषणा गर्दै उक्त सुधारलाई भाँडभैलोको सङ्ज्ञा दिएका छन् ।
मोती जयन्तीका अवसरमा भक्तपुरमा आयोजित कार्यक्रममा उनले भाषामा ल्याएको भाँडभैलोविरुद्ध सधैँ सङ्घर्ष गरिरहन आफूलगायत अन्य प्राध्यापकसमेत तयार रहेको बताए ।
प्राध्यापक गौतमले भने, “भाषालाई तोकआदेश र टिप्पणीबाट लागू गर्ने होइन । भाषा प्रयोक्ताको सम्पत्ति हो, भाषा परिवर्तनशील छ, यो निरन्तरको प्रक्रिया हो, यसलाई लादेर लादिन्न ।”
कार्यक्रममा नेपाली भाषाविद् चूडामणि गौतमले खुट्टा काटेर बनाएको नियमप्रति असहमति जनाउँदै नेपालमा भएको सुधारप्रति भारतमा रहेका नेपालीको पनि विरोध रहेको बताए । नेपाली भाषाको आफ्नै शिष्ट परम्परा रहेकाले त्यसलाई नछोड्न उनले आग्रह गरे ।
प्रा डा खगेन्द्र लुइँटेलले पछिल्लो समय आएको परिवर्तन नेपाली भाषामाथि भएको थिचोमिचोको परिणाम भएको धारणा राखे ।
अभियानका संयोजक बलदेव शर्माले पाठ्यक्रम विकास केन्द्रले नेपाली भाषा विषयमा भ्रम पैदा गरेको चर्चा गर्दै कथित सुधार देवनागरी लिपिलाई समाप्त पार्ने षड्यन्त्र भएको आरोप लगाए ।
उनले पूर्वशिक्षामन्त्री दिनानाथ शर्मालाई झुक्याएर भाषा सुधार नाममा नियम लाद्नु राष्ट्रको भाषा बचाउ र सुधारभन्दा केही व्यक्तिको शब्दकोश बिकाउने स्वार्थ रहेको बताए ।
साक्षात्कारमा अभियानका अभियन्ता एवम् शिक्षाविद् शरच्चन्द्र वस्तीले भाषालाई अझ समृद्ध बनाएर अघि लग्नुपर्ने आवश्यकता भइरहेको समयमा सरकारले नयाँ नियम ल्याएर भाषाकै मर्ममाथि प्रहार गरेको आरोप लगाए ।
कार्यक्रममा नयाँ नेपाली वर्णविन्यासका पक्षधर बद्रीविशाल भट्टराईले सरकारले बिना छलफल भाषामा गर्न खोजेको परिवर्तनले नयाँपन नल्याएको दाबी गरे ।
मोतीराम भट्टको १५१ औँ जन्म जयन्तीको अवसरमा बागीश्वरी उमाविले ‘नेपाली भाषा बआचौँ अभियान’ बारे बृहत् छलफल कार्यक्रम गरेको थियो ।