रिपोर्टबिहिबार, १६ भाद्र , २०७३

पृथ्वीको मीत!

प्रज्वल काफ्ले

अहिलेसम्म भेटिएकामध्ये पृथ्वीको सबैभन्दा नजिकको ग्रह प्रोग्जिमा–बीमा यहाँ जस्तै जीवनको सम्भावना देखिएको छ।

अनुसन्धानपछि सार्वजनिक नयाँ ग्रह प्रोग्जिमा-बी (इन्सेटमा) को सतहको काल्पनिक आकृति । तस्वीर: ESO/M. Kornmes ser (vox.com)

पृथ्वीवासीका लागि सूर्यपछि सबैभन्दा नजिकको तारा हो, अल्फा–सेन्टौरी। यो तीन बेग्लाबेग्लै ताराहरू मिलेर बनेको ताराको झुण्ड हो। तीन तारामध्येको एक प्रोग्जिमा सेन्टौरी वरिपरि एउटा ग्रह घुमिरहन्छ र त्यसको नाम प्रोग्जिमा–बी हो भन्ने तथ्य भने ८ भदौमा मात्र पत्ता लागेको छ। यसलाई अन्तरिक्ष विज्ञानको अत्यधिक महत्वको खोज मानिएको छ। 

यूरोपियन साउर्दन अब्जरभेटोरी (इसोका) को यस्तो सनसनीपूर्ण खुलासाले संसारलाई तरंगित बनाएको छ। यसका प्रमुख दुई कारण छन्, पहिलो यो ग्रह हामी पुग्न सक्ने दूरीमा छ, दोस्रो यो जीवन प्राणी अनुकूल हुने क्षेत्रमा छ।

प्रोग्जिमा सेन्टौरी सूर्यभन्दा निकै सानो, मधुरो र पुड्को तारा हो। दूरबिनको सहायता बेगर यसलाई देख्न सकिन्न। सूर्य मण्डलमा पृथ्वीलगायतका ग्रहहरू भए जस्तै प्रोग्जिमा सेन्टौरी वरिपरि पनि चलायमान मण्डल छ। प्रोग्जिमा–बी त्यसै मण्डलमा प्रोग्जिमा सेन्टौरी तारालाई केन्द्र मानेर घुम्ने ग्रह हो, जुन पृथ्वी जत्रै छ।

प्रोग्जिमा–बी प्रोग्जिमा सेन्टौरीभन्दा निकै सानो भएकाले अनुसन्धानका लागि दक्षिण अमेरिकी राष्ट्र चिलीमा रहेका विश्वकै शक्तिशाली दूरबिनहरू र ला–सिल्ला अब्जरभेटोरीमा रहेको अर्को दूरबिन पनि प्रयोग गरिएको थियो। यो खोजलाई पेल रेड डट कार्यक्रम नाम दिइएको थियो।

अन्तरिक्ष विज्ञानको आजसम्मको अनुसन्धान भन्छ– सौर्यमण्डलका सबै ग्रहहरूमा जीवनको अस्तित्व छैन। मीठो संयोग नै मान्नुपर्छ कि, पृथ्वी सूर्यबाट न धेरै गर्मी हुने गरी नजिक छ न अत्यधिक चिसो हुने गरी टाढा। तरल पानी रहने गरी पृथ्वी सूर्यको ठिक्क दूरीमा छ। यसको सतहमा वायुमण्डल छ र त्यो पनि पृथ्वीको गुरुत्वाकर्षणका कारण पृथ्वीसँगै टाँसिएर बसेको छ। वायुमण्डलका कारण दिन र रातमा तापक्रम धेरै तल–माथि हुन पाउँदैन। यी सबै वातावरण जीवन धान्न अनुकूल भएकाले पृथ्वीमा ब्याक्टेरिया जस्ता सरलदेखि मानव जस्ता विकसित जीव र वनस्पतिको उत्पत्ति सम्भव भएको हो।

वैज्ञानिकहरूको अनुमान छ, अरू ताराहरूको वरिपरि पनि जीवन सम्भव तुल्याउने अनुकूल क्षेत्र हुनुपर्छ, जसलाई ह्याबिटेबल जोन भनिन्छ। प्रोग्जिमा–बी त्यस्तै एक ग्रह हो। 

पृथ्वी जत्रै र जीवन अनुकूल क्षेत्रमा भेटिएको ग्रहमा प्रोग्जिमा–बी प्रथम आविष्कार भने होइन। अमेरिकी अन्तरिक्ष संस्था नासाको केप्लर भन्ने दूरबिनले सयौंको संख्यामा बाहिरी तारा–मण्डलमा थुप्रै पानी अथवा जीवनको सम्भावनाका ग्रहहरू पत्ता लगाइसकेको छ।

यस्ता नयाँ ग्रहहरूको खोजी पनि निरन्तर छ। अहिले नासालगायत संसारभरका अन्तरिक्ष संस्थाहरूको ध्यान र लगानी ग्रह केन्द्रित छ। तर, प्रोग्जिमा–बी भेटिनु यीमध्ये सबैभन्दा पृथक् र महत्वको छ। किनभने यो पृथ्वीबाट अहिलेसम्म पत्ता लागेकामध्ये सबैभन्दा नजिकको बाहिरी ग्रह होजहाँसम्म मानव पुग्ने सम्भावना छ।

पृथ्वीबाट सूर्यको दूरी १५ करोड किलोमिटर छ। प्रोग्जिमा सेन्टौरीको दूरी झन्डै ४० खर्ब किलोमिटर छ। त्यसैले उपलब्ध अत्याधुनिक प्रविधि प्रयोग गरी आजैबाट तयारी थाल्ने हो भने पनि प्रोग्जिमा सेन्टौरीसम्म पुग्न करीब ३० वर्ष लाग्ने अनुमान छ।

तर, अनुसन्धानको कटु यथार्थ के पनि छ भने आजसम्म मानव निर्मित कुनै पनि अन्तरिक्ष यान सौर्यमण्डल बाहिरसम्म पुग्नसकेको छैन। भोएजर नामक दुई यान सौर्यमण्डलको बाहिरी सीमासम्म पुग्नै आँटेको दाबी भने गरिएको छ।

प्रोग्जिमा–बीले झन्डै ११ दिनमा प्रोग्जिमा सेन्टौरीलाई एक फन्को मार्छ। अर्थात् पृथ्वीसँग दाँजेर हेर्ने हो भने प्रोग्जिमा–बीमा ११ दिन बराबरको एक वर्ष हुन्छ। त्यसैले त्यहाँको मौसम पनि ११ दिनभित्रै परिवर्तन भइरहने भयो।

प्रोग्जिमा सेन्टौरी सूर्यभन्दा निकै कम रापिलो भएको हुनाले सम्भवतः त्यहाँको जीवन पृथ्वीकै जस्तो विकसित होला भन्न सकिन्न। तर, यसबाट अझ स्पष्ट सूचनाका लागि थप अनुसन्धान कुर्नुको विकल्प छैन।
(डा. काफ्ले युनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलियामा खगोलशास्त्रका अध्यापक हुन्।)

प्रतिकृया दिनुहोस