कावासोती नगरपालिका प्रमुखमा महिला नेत्री पुन निर्वाचित
नवलपरासीको कावासोती नगरपालिका प्रमुखमा एमालेकी उमेदवार चन्द्रा पुन निर्वाचित भएकी छन् । उपप्रमुखमा पनि एमालेकै उम्मेदवार प्रेमशङ्कर मर्दनिया निर्वाचित भएका छन् ।
प्रमुखमा विजयी पुनले कुल १३ हजार ४१ मत प्राप्त गरिन भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेन्द्र पोखरेलले १२ हजार ५९४ मत प्राप्त गरे ।
त्यसैगरी, उपप्रमुखमा कुल १३ हजार ८१४ मत प्राप्त गरी मर्दनिया निर्वाचित भए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी खगिसरा गुरुङले ११ हजार ६९३ मत गरिन् ।
नवलपरासीमा प्रथम चरणमा निर्वाचन भएका आठवटा स्थानीय तहमध्ये आठवटै स्थानीय तहमा मतगणना सकिएको छ,
जसअनुसार नगरपालिकातर्फ देवचुली र मध्यबिन्दु, गाउँपालिकातर्फ बुलिङटार, हुप्सेकोट, विनयी त्रिवेणी र बुङ्दीकालीमा कांग्रेसका उमेदवार निर्वाचित भएका छन् भने गैँडाकोट र कावासोती नगरपालिकामा एमालेका उमेदवार निर्वाचित भएका छन् ।
कांग्रेसका उमेदवार चारवटै गाउँपालिकातर्फ हुप्सेकोटमा उपाध्यक्षबाहेक सबैमा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित निर्वाचित भएको छ ।
त्यसैगरी, नगरपालिकातर्फ पनि देवचुलीमा उपप्रमुखबाहेक प्रमुख र मध्यबिन्दुमा प्रमुख र उपप्रमुखमा कांग्रेसका उमेदवार निर्वाचित भए ।
एमालेले जिल्लाको गैँडाकोटमा उपप्रमुखबाहेक प्रमुखमा विजय हासिल गरेको छ भने कावासोतीमा भने प्रमुख र उपप्रमुखमा समेत निर्वाचित भएको छ ।