डिआईजी सिलवालको मुद्दा 'हेर्न नमिल्ने' भएपछि स्थगित
आफूलाई नेपाल प्रहरीको आईजीपी नियुक्त गर्न माग गर्दै डिआइजी नवराज सिलवालले दायर गरेको मुद्दाको आज पेशी तोकिएको भए पनि स्थगित भएको छ ।
सर्वोच्च अदालतको वृहद पूर्ण इजलासमा सुनुवाई हुन लागेको उक्त मुद्दामा इजलासका न्यायाधीशमध्ये देवेन्द्र गोपाल श्रेष्ठको डिआइजी सिलवालसँग नाता पर्ने भएकोले उनले मुद्दा हेर्न नमिल्ने विपक्षी वकिलहरुले बताएपछि मुद्दाको सुनुवाई आज स्थगित भएको हो ।
न्यायाधीश श्रेष्ठ प्रहरी नायब महानिरीक्षक सिलवाल बीच नाता सम्बन्ध भएका कारण मुद्दा हेर्न नमिलेको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्र उपाध्यायले जानकारी दिए ।
विपक्षी वकिलहरुले मुद्दा न्यायाधीश श्रेष्ठले हेर्न नमिल्ने भन्दै सुनुवाई स्थगित गर्न माग गरेपछि श्रेष्ठले पनि मुद्दा नहेर्ने निर्णय गरेका थिए ।
इजलाशमा सात न्यायाधीश– देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्र शम्शेर जबरा, जगदीश शर्मा पौडेल, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सपना प्रधान मल्ल र तेजबहादुर केसी थिए ।
यसअघि वैशाख १९ गते अन्तिम सुनुवाइ हुने भनिएकोमा त्यसको दुई दिनअघि नै प्रधान्यायाधीशमाथि महाअभियोग प्रस्ताव दर्ता भएपछि यो मुद्दा प्रभावित भई सनुुवाइ हुन सकेको थिएन ।
प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग प्रस्ताव दर्ता भएपछि मुद्दाको पहिलो पटक सुनुवाइ हुन लागेको हो।