बैंक प्रवन्धक करोडौ रकम हिनामिना गरी फरार
कैलाश विकास बैंकको पोखरा लामाचौर शाखाका प्रबन्धक रविचन्द्र खनाल करोडौं हिनामिना गरी फरार भएको भन्दै बैकले प्रहरीम उजुरी दिएको छ ।
६ महिनाअघि मात्रै शाखा प्रबन्धकको जिम्मेवारी सम्हालेका उनी १ बैशाखदेखि फरार भएको बैंक स्रोतले जनाएको छ ।
उनले आफ्ना साथीभाइ, चिनेजानेका तथा बैंकका ग्राहकसँग पनि व्यक्तिगत रुपमा पैसा उठाएको र सहकारीबाट पनि पैसा लिएको बैंकरहरू बताउँछन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा कैलाश बैंकले आफ्ना शाखा प्रबन्धक सम्पर्कविहीन बनेको र रकम हिनामिना गरेको भन्दै उजुरी दिएको छ ।
बैंकले प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो काठमाडौंमा पनि उजुरी दिएको जनाएको छ ।
विभिन्न सहकारीमा आवद्ध भएर त्यहाँ कारोबार गर्ने र शेयर किनबेचमा पनि सक्रिय हुँदै आएकी खनालकी पत्नी लक्ष्मी फेवा फाइनान्समा कार्यरत छिन् ।
पति भागेलगत्तै उनी पनि कार्यालय गएकी छैनन् । फेवा फाइनान्सको मानव संशाधन विभाग प्रमुख उनी पनि सम्पर्क विहिन छिन् ।
“कर्मचारीलाई फलानो मान्छे यति नम्बरको चेक लिएर आउँछ, अहिले मलाई पैसा दिँदै गर भन्दै खनालले पैसा लिएका रहेछन्”, बैँकका एक कर्मचारीले भने, “तर पछि चेक लिएर कोही गएको रहेनछ ।”
कतिपयले डिपोजिटका लागि दिएको रकम र चेक पनि खातामा जम्मा नगरिएको बताइएको छ ।
काठमाडौंमा केन्द्रीय कार्यालय रहेको बैंक व्यवस्थापनले खनाल भागेको थाहा पाउनासाथ अडिट टोलीलाई पोखरा पठाएको छ ।
उनले गरेको आर्थिक अनियमितताकोे यकीन रिपोर्ट प्रहरीलाई बुझाउन बैंकले तयारी गरेको छ ।
प्रारम्भिक छानबिन र लेखापरीक्षण अनुसार खनालले कैलाश बैंक शाखाबाट डेढ करोडभन्दा बढी हिनामिना गरेको अनुमान छ ।
खनालले सबैतिर गरेर १० करोडसम्म हिनामिना गरेको हुन सक्ने आँकलन बैँकले गरेको छ ।
जग्गाको कारोबार गर्नेहरूसँग ब्याजको लोभमा पैसा लेनदेन कारोबारमा संलग्न हुँदा खनाल फसेको उनका निकटस्थहरू बताउँछन् ।
रकम हिनामिना गरेर फरार भएको उजुरी आउनासाथ प्रहरीले खोजविन तिब्रा पारेको जनाएको छ । तर उनले नेपाल छाडिसकेको प्रहरीको आशंका छ ।
खनाल कैलाश विकास बैंकमा आउनुअघि नेपाल एक्सप्रेस फाइनान्सको पोखरा, सभागृहचोकस्थित शाखा प्रमुख थिए ।
उक्त फाइनान्ससँगै मेट्रो विकास बैँक गएको वर्षमात्रै कैलाश विकास बैंकमा मर्ज भएको थियो । मर्ज हुनु अघि एउटा शाखा हेरिसकेको व्यक्ति भनेरै कैलाशले लामाचौर शाखामा खनाललाई जिम्मेवारी सुम्पेको थियो ।
युवराज श्रेष्ठ, पोखरा