अपहरण गरी जग्गा नाम सारी गराएको अभियोगमा खरदार पक्राउ
झापा जिल्ला प्रशासन कार्यालयका एकजना खरिदार अपहरणको अभियोगमा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरि शर्माका अनुुसार झापा शनिश्चरेका जीवन विष्टलाई बन्धक बनाई रु एक करोडभन्दा बढी बजार मूल्य भएको जग्गा पास गर्न लगाएको अभियोगमा खरिदार तेजेन्द्र न्यौपाने, झापा चन्द्रगढिस्थित न्यौपाने स्टोर्सका प्रवन्धक प्रेम न्यौपाने र भुपु कान्छा भनिने अजय राई पक्राउ परेका छन् ।
उनीहरुलाई गत २० माघमा शनिश्चरेका जीवन बिष्टलाई बन्धक बनाई विष्टको झापा विर्तामोडको ६ कठ्ठा भन्दा केही बढी जग्गा जवर्जस्ती पास गराएको अभियोग छ ।
प्रहरीले २७ चैत अपराह्न बाहुनडाँगी झापाका अजय राईलाई विर्तामोडबाट, खरिदार न्यौपानेलाई सदरमुकाम चन्द्रगढीबाट र प्रेम न्यौपानेलाई दमकबाट पक्राउ गरेको हो ।
झापा प्रहरीले होटेलमा पान नम्बर नराखेको भन्दै रकम माग्ने एकजना नक्कली प्रहरी पनि पक्राउ गरेको छ ।
झापाको मेचीनगर ७ का २५ वर्षीय देवराज राई २८ चैत बिहान झापाको विर्तामोडका केही होटेलमा ‘म गुप्तचर प्रहरी हुँ’ भनेर पैसा माग्दै गर्दा पक्राउ परेको बिर्तामोड प्रहरीले जनाएको छ ।
गोपाल गडतौला, झापा