राजनीतिक गतिविधिमा बालबालिका र विद्यालयलाई सहभागी नगराऊः बालकल्याण समिति
केन्द्रीय बालकल्याण समितिले राजनीतिक कार्यक्रम, विरोध–सभा, जुलुशमा बालबालिकालाई सहभागी नगराउन सबैको ध्यानाकर्षण गराएको छ ।
हालै स्थानीय निर्वाचनको मिति घोषणा भएको सन्दर्भमा पनि राजनीतिक गतिविधिमा बालबालिकालाई सहभागी गराउने, विद्यालयमा राजनीतिक कार्यक्रम गर्ने जस्ता कार्य नगर्न नगराउन पनि समितिले सम्बन्धित सबैलाई आग्रह गर्नुका साथै यस्ता गतिविधि निरुत्साहित गराउन सरोकारवालालाई क्रियाशिल रहन आग्रह गरेको छ ।
समितिले रुपन्देहीको मर्चावार क्षेत्रमा ८ फागुनमा विद्यालय बन्द गराई बालबालिकालाई विरोध जुलुशमा लगिएको भन्ने खबरले आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै बालअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय मान्यता, नेपालको संविधान, ऐन विपरित कुनै कार्य नगर्न सबैलाई सचेत गराएको छ ।
यस सन्दर्भमा अभिभावक, समुदाय र विद्यालयलाई समेत सजग हुन केन्द्रीय बालकल्याण समितिले सचेत गराएको छ ।
समितिले मर्चावार क्षेत्रको परिस्थिति सहज बनाई बालबालिको संरक्षण साथै दैनिक पठनपाठन सुचारु गराउन पनि सम्बन्धित सबैसँग माग गरेको छ ।