टिप्पणी सोमबार, साउन १७, २०७३

सत्यसँग साक्षात्कार

हिमालखबर

सन्त डा. गोविन्द केसीको सत्याग्रहप्रतिको बढ्दो जनसमर्थनले अख्तियारको सन्त्रास चिरेको छ।
 

gopemछिमेकी भारतको अमानवीय नाकाबन्दीविरुद्ध विश्वभरका नेपाली ऐक्यबद्ध भएजस्तै सन्त डाक्टर गोविन्द केसीको सत्याग्रहमा सबैतह र तप्का एकाकार भइरहेका छन्। डा. केसीका नाममा कञ्चनपुरदेखि काकडभिट्टा र अष्ट्रेलियादेखि अमेरिकासम्मका नेपाली न्यायिक लडाइँको मोर्चामा गोलबद्ध भएका छन्। तर, भारतको नाकाबन्दी र केसीको अनशनसिर्जित मोर्चाबीच एउटा तात्विक भिन्नता छ। नाकाबन्दीको विरोध पराइ मुलुकको थिचोमिचोको परिणति थियो भने डा. केसीप्रतिको ऐक्यबद्धता मुलुकभित्रकै लोभीपापीको द्रव्यमोह र स्वेच्छाचारी शासनको आकांक्षाप्रतिको प्रतिकार उद्देश्यबाट प्रेरित छ। 

डा. केसीको सत्याग्रह दोस्रो हप्ता प्रवेश गरेसँगै आन्दोलनकै स्वरुप धारण गरिसकेको छ। 'यो आन्दोलन नै हो भने किन सबै सडक नभरिएका त? किन टायर बालिएका छैनन्? बन्द–हड्ताल वा चक्काजाम भएका छैनन्?' कतिपयले यसखाले संशय पनि गर्न सक्छन्। र, यो स्वाभाविक पनि हो। किनभने राजनीतिक परिवर्तनका आन्दोलनभन्दा सत्याग्रह आन्दोलन सारभूत रूपमा भिन्न छ।

पछिल्ला आन्दोलनहरू राजनीतिक दलहरूको अगुवाइमा भएका थिए, जसमा जनता मिसिएपछि तिनले जनआन्दोलनको स्वरुप धारण गरेको थियो। तर, अहिलेको आन्दोलन एक सामाजिक अभियन्ताको अगुवाइमा हुँदैछ, जसको पूँजी भन्नु नै निष्ठा र सदाचार हो। यो आन्दोलनको लक्ष्य सत्ता वा व्यवस्था परिवर्तनबाट नभएर राजनीतिको शुद्धीकरणबाट प्राप्ति हुनेछ। त्यसैले यो आन्दोलनले सबैभन्दा पहिले आसन्न बेथिति र कुशासनका संवाहक राजनीतिज्ञलाई निर्मम परीक्षण गर्नेछ। यसर्थ डा. केसीको सत्याग्रहले बाटो विराएर पद र पैसाका पछि लागेका नेताहरू जनपक्षीय मोर्चामा फर्कन्छन्/फर्कंदैनन् भन्ने कुराको अग्निपरीक्षा लिनेछ। लोभ र कुशासनमा लिप्त हुन चाहनेहरू त्यसै अग्निमा डढेर समाप्त हुनेछन्।

भयको पराजय

डा. केसीको पक्षमा जनसहभागिता गणना गर्नुअघि कस्तो परिस्थिति र सन्दर्भमा उनीप्रति समर्थन जुट्दैछ भनी बुझन जरूरी छ। चिकित्सा शिक्षामा सुधारसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखलाई महाअभियोगको माग राखेसँगै डा. केसीको सत्याग्रह भयका बीच आरम्भ भएको थियो। अनशन तुहाउन शिक्षण अस्पतालका सबै कोठामा ताल्चा मारिए, डा. केसीलाई साथ दिने अस्पतालका चिकित्साकर्मी, विद्यार्थी र कर्मचारीलाई कारबाहीको धम्की दिइयो। तर पनि, डा. केसीको समर्थनमा सन्त्रासको साङ्लो तोड्नेहरूको लस्कर लागेको छ। यो नै सत्याग्रहको सफलता हो।

वस्तुतः राजनीतिक आन्दोलन शीर्ष नेतृत्वतहले आह्वान गर्ने भए पनि उँचाइमा पुर्‍याउने काम विद्यार्थी संगठनहरूले गर्दछन्। राजनीतिक आन्दोलनको मूल चरित्र माउ (दल) र भ्रातृ (विद्यार्थी) संगठन बीच उद्देश्यमा साझ्ापना हो। तर, डा. केसीको सत्याग्रह दलहरूको अनुत्तरदायी रवैया र अकर्मन्यताविरुद्ध भएकाले उनीहरूले आफ्ना भ्रातृ संगठनलाई अनशनमा सहभागी हुन निषेध गरेका छन्। अख्तियारको त्रासका कारण राष्ट्रसेवक कर्मचारी पनि कालोपट्टी बाँधेर वा पेन डाउन गरेर विरोध प्रकट गर्न सक्तैनन्।

कुनै पनि आन्दोलनको औचित्य आन्दोलनका न्यायपूर्ण माग र उद्देश्य प्राप्तिका लागि अंगीकार गरिएको विरोध वा असहमतिको शैलीमा निर्भर हुन्छ। यदि टाउकाका गन्तीले मात्र आन्दोलनको गन्तव्य निर्धारण गर्ने वा शासन टिकाउन सक्ने भए अहिलेसम्म पञ्चायती व्यवस्था नै रहिरहन्थ्यो। 'पञ्च र्‍याली' शब्द त्यसै बनेको होइन। आन्दोलनको सार्थकता कति भन्दा कस्ता मानिस संलग्न छन् भन्ने हुन्छ। डा. केसीप्रति उर्लंदो समर्थनको कारक भनेकै न्यायपूर्ण माग र अहिंसात्मक बाटो हो।

भय र सन्त्रासका बीच डा. केसीको सत्याग्रहको समर्थनमा देखिएको शैली भने रचनात्मक छ। सत्याग्रहमा प्रयोग गरिएका नारा, नमूना संसद्मा महाअभियोग, संसद् भवन अगाडि लाचार सांसद्को मौन धर्ना, सांसद्लाई टेक्स्ट मेसेज, कला र कविताको प्रयोग आदि विरोधका बदलिंदा शैली हुन्।

आफूलाई बलिवेदीमा चढाएर सन्त डाक्टर केसीले तीन करोड नेपाली (उनलाई पागल मान्ने र सिध्याउनेसमेत) को हितमा सत्याग्रह गरेका छन्। उनको सत्याग्रह शैली भविष्यको नेपालको आन्दोलनको स्वरुपमा स्थापित हुनेछ। डा. केसीको सत्याग्रह हामी सबैलाई सत्यसँग साक्षात्कार हुने अवसर पनि हो। किनकि, उनले अन्याय, बेथिति, कुशासन बहुल मोर्चाविरुद्ध लडाइँ छेडेका छन्।

प्रतिकृया दिनुहोस