संशोधन प्रस्तावबारे पुनर्विचार गरिनुपर्छ: शशांक कोइराला
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संविधाने संशोधन विधेयक बारे दलहरुले फेरि एकपटक सोच्नुपर्ने बताएका छन् ।
९० प्रतिशत प्रतिनिधिले सहमति जनाएर जारी भएको संविधान संशोधनका लागि पनि सबैको सहमति आवश्यक रहने उनको भनाई छ ।
“त्यती बेला पनि सबै दल मिलेर जानु पर्छ भन्ने नै थियो,” आफ्नो निर्वाचन क्षेत्र नवलपरासी आइपुगेका कोइरालाले भने, “जनताको भावनामा खेलवाड गर्नु हुँदैन ।”
नवलपरासीको गैंडाकोट नगरपालिकाको तेस्रो नगरपरिषद्को उद्घाटन समारोहमा बोल्दै उनले राजनीतिक स्थिरताका लागि वार्ता नै समस्याको समाधान भएको बताए ।
तीन तहको निर्वाचन गराउँदा मात्र संविधानको कार्यन्वयन हुने भएकाले चुनावमा केन्द्रित हुन आवश्यक भएको उनले औंल्याए ।
स्थानीय तह बनाएर चुनाव गर्न समय लाग्ने भएकोले हालका लागि पूरानै संरचना अनुसारको स्थानीय निकायको निर्वाचन हुनुपर्ने पक्षमा आफू रहेको उनले धारणा व्यक्त गरे ।
संविधान संशोधन विधेयकमार्फत ५ नं प्रदेशबाट पहाडी जिल्लाहरु अलग पार्न लागिएकोमा कोइरालाले असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।
गैंडाकोट देखि कोटथर, बुलिङटार हुँदै दलदले निस्कने चक्रपथ र गैंडाकोट नगरभित्रको चक्रपथ निर्माणका लागि बजेट मिलाउन आफूले पहल गरिरहेको भन्दै उनले अत्याधिक दुर्घटना हुने भएकाले जिल्लामा एउटा राम्रो अस्पताल बनाउन समेत आबश्यक रहेको बताए ।
“यहाँ बीपीको नाउँमा अन्तर्राष्ट्रिय स्तरको खेल मैदान बनाउने सोचमा छु” कोइरालाले आफ्नो योजना सुनाए ।
विद्रोही गिरी, नवलपरासी