स्थानीय तहको निर्वाचन वैशाख अन्तिममाः सिटौला
नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आउँदो वैशाख महिनाको अन्तिमतिर स्थानीय तहको निर्वाचन हुने बताएका छन् । एकचालिसौँ राष्ट्रिय एकता मेलमिलाप दिवसको अवसरमा काँग्रेस लेखनाथ नगर समितिद्वारा लेखनाथको खुदीमा १६ पुसमा आयोजित प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो धारणा राखेका हुन ।
सिटौलाले सके नयाँ संरचनाअनुसार नभए पुरानै संरचनामा पनि स्थानीय तहको निर्वाचन हुने भएकाले पार्टी सङ्गठन विस्तार गर्नुपर्नेमा जोड दिए । उनले ७ माघ २०७४ भित्र तीनै तहको निर्वाचन हुन सकेन भने संविधान कार्यान्वयन नहुने र देशको अवस्था बिग्रिएर जाने बताए ।
विश्वका धेरै देशमा संविधान जारी भएपछि पनि धेरैपटक संशोधन भएको उदाहरण पेश गर्दै सिटौलाले नेपालको संविधान पनि निरन्तर संशोधन हुंँदै जान्छ यसमा कुनै द्विविधा नराख्न आग्रह गरे ।
कार्यक्रममा सिँचाइ मन्त्री दीपक गिरीले पार्टी नेतृत्वले गुटउपगुटको अन्त्य गरी एकताको सन्देश लिएर जनतामाझ जानुपर्नेमा जोड दिए ।
अर्का नेता तारानाथ रानाभाटले देश अभैm पनि जटिल मोडमा रहेकाले स्थायी शान्ति र समृद्धिका लागि अघि बढ्न सबैसँग आग्रह गरे ।
सांसदहरू यज्ञबहादुर थापा, शारदा पौडेल, बृन्दा रानाले राष्ट्रियता कमजोर भए देश पनि कमजोर हुने भएकाले यसप्रति सजग रहनुपर्ने बताए ।रासस