बसरुद्दिन अन्सारीलाई पक्राउ गर्न माग गर्दै वीरगञ्जमा विद्यार्थी आन्दोलन (भिडियाे सहित)
–एस उपाध्याय
नेशनल मेडिकल कलेज वीरगञ्जमा आन्दोलनरत एमबीबीएस अध्ययनरत विद्यार्थीमाथि लगातार केही दिनदेखि कलेज प्रशासनले कुटपिट र यातना दिइरहेको विरोधमा आइतबार प्रदर्शन भएको छ ।
कलेजले लिएको अतिरिक्त शुल्क फिर्ताको माग राखेर आन्दोलन गरिरहेका विद्यार्थीमाथि कलेज प्रशासनले अध्ययनरत विद्यार्थीहरू माथि दमन गरेको विरोधमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शन गरेको हो ।
अनेरास्ववियूका केन्द्रीय तथा जिल्लास्तरीय नेता सुदेश पराजुली, डा. मिलन गैरे, अरुण यादव, पराग सिंह, मित्रदेव यादव, हेमन्त तामाङ, शुभम साह समेत सहभागी विरोध र्याली घण्टाघरबाट शुरु भई बजार परिक्रमा गर्दै नेशनल मेडिकल कलेज घेराउ गर्न पुगेको थियो । उनीहरूले बसरुद्दिनलाई पक्राउ गर लेखिएका प्ला कार्ड बोकेका थिए ।
शुल्क फिर्ता गर्न सरकारले दिएको १५ दिनको समय सकिन २ दिन बाँकी हुँदा आन्दोलनरत विद्यार्थी कलेज अगाडि धर्ना सकेर होस्टल जाने क्रममा कुटपिट तथा मानसिक यातना दिइएको पीडित विद्यार्थीले बताएका छन् ।
काठमाडौं उपत्यका बाहिर राज्यले निर्धारण गरेको ४२ लाख ५० हजार रुपैयाँ शुल्कभन्दा नेशनल मेडिकल कलेजले बढी रुपैयाँ लिएको विद्यार्थीले बताउँदै आएका छन् । विभिन्न बहानामा कलेजले प्रतिविद्यार्थी १२ लाखदेखि १५ लाख रुपैयाँसम्म बढी शुल्क असुलेको विद्यार्थीले बताएका छन् ।
अतिरिक्त शुल्क फिर्ताको माग राख्दा कलेजका सञ्चालक बसरुद्दिन अन्सारीले गुन्डा लगाएर कुटपिट गराएको आरोप समेत विद्यार्थीले लगाएका छन्।