उपेन्द्र यादवको जिम्मेवारी हेरफेरमा तरंगित हुनुपर्दैनः समाजवादी पार्टी
उपप्रधानमन्त्री उपेन्द्र यादवको विभागीय मन्त्रालय हेरफेरलाई समाजवादी पार्टी, नेपालले सामान्य रुपमा लिएको जनाएको छ ।
समाजवादी पार्टीका एक पदाधिकारीका अनुसार, मन्त्रिपरिषद् पुनर्गठनलाई समाजवादी पार्टीले सामान्य रुपमा लिएको छ ।
“उपप्रधानमन्त्रीको हैसियत खोसिएको होइन, प्रधानमन्त्रीले आवश्यकताअनुसार विभागीय मन्त्रालय हेरफेर गर्न सक्नुहुन्छ”, ती नेताले भने ।
उपप्रधानमन्त्री यादव विदेशमा रहेकाले बेला विभागीय मन्त्रालय फेरिएको सन्दर्भमा ती नेताले हिमाल खबरसँग भने, “यस्तै तर्क गर्न थालियो भने अर्का उपप्रधानमन्त्री (ईश्वर पोखरेल) पनि त स्वदेशमा हुनुहुन्न । हाम्रो पार्टीले पाउने मन्त्रालयको संख्या र हैसियतमा केही फरक परेको छैन ।”
तर, उपप्रधानमन्त्री यादव स्वदेश फर्किए पछि यसबारे पार्टीमा छलफल हुन सक्ने उपमहासचिव एवम् प्रवक्ता प्रकाश अधिकारीले बताए । मंगलबार गरिएको मन्त्रिपरिषद् पुनर्गठनमा उपप्रधानमन्त्री यादवको मन्त्रालय स्वास्थ्यबाट कानून परिवर्तन गरिएको छ ।