सीमा सुरक्षाका लागि नेपाली सेनाको छुट्टै संरचना
नेपाली सेनाले अन्तर्राष्ट्रिय सीमाको सुरक्षा र सूचना सङ्कलन गर्न अलग्गै निर्देशनालय गठन गरेको जनाइएको छ ।
सहायक रथीको नेतृत्वमा सर्भे तथा सीमा अनुगमन निर्देशनालय गठन गरिएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताएको बीबीसीले जनाएको छ ।
भारतले कालापानी लगायत नेपाली भूभागलाई हालै सार्वजनिक गरेको नक्सामा राखेको केही दिनपछि नेपाली सेनाले तीन महीनाअघि आफ्नो सीमा अनुगमन संयन्त्र गठन गरिएको जनाएको हो । अन्तर्राष्ट्रिय सीमा सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरीले निर्वाह गर्दै आएको छ ।
गतवर्ष रक्षामन्त्रीस्तरीय निर्णयले राष्ट्रिय सुरक्षासम्बन्धी दुईपक्षीय र अन्तर्राष्ट्रिय सन्धि, सम्झौता, नक्सा एवम् अन्य महत्वपूर्ण दस्तावेजको संरक्षण तथा अनुसन्धानका लागि अनुसन्धान केन्द्र बनाउन नेपाली सेनालाई निर्देशन दिएको थियो ।
यसकाे दरबन्दी र जिम्मेवारी सहितका विषयमा मन्त्रिपरिषद्ले निर्णय गर्नेछ । निर्देशनालय मातहत तीन शाखा र करीब ६० देखि ७० जना जनशक्ति रहने जनाइएको छ ।
निर्देशनालयले केन्द्रीयस्तरमा गृह, परराष्ट्र, कानुन मन्त्रालय तथा नापी विभागसँग नियमित समन्वय गर्ने, सन्धि, सम्झौता तथा सिमानासँग सम्बन्धित नक्सा तथा अति संवेदनशील कागजपत्रको अभिलेखीकरण र संरक्षण गर्ने, र विभिन्न विज्ञ तथा निकायसँग भएका महत्वपूर्ण दस्तावेज र अनुसन्धानपत्र पनि सुरक्षित राख्ने काम गर्नेछ ।
उक्त निर्देशनालय अन्तर्गत सीमा अनुगमन तथा समन्वय महाशाखा, सन्धि सम्झौता अध्ययन तथा अनुसन्धान महाशाखा र सर्भे महाशाखा रहनेछन् । अहिले नेपाली सेनाको सर्भे हेर्ने निकायले आफ्ना भवन तथा जग्गासम्बन्धी काम मात्र हेर्दै आएको छ।