अयोध्या फैसलाबारे भारतीय मुस्लिम नेता: बाबरी मस्जिदको विषयमा सम्झौता गर्दैनौं
अयोध्याको विवादित जमीनबारे सर्वोच्च अदालतको फैसलाप्रति अल इन्डिया मजलिस-ए-इत्तेहाद उल मुसलिमिन (एआईएमआईएम) नेता असदुद्दीन ओवैसीले असन्तुष्टि प्रकट गरेका छन्।
हैदराबादका सांसद ओवैसीले पूर्व प्रधान न्यायाधीश जेएस वर्माको एक भनाइको हवाला दिंदै अन्तिम फैसला गर्ने निकाय सर्वोच्च भए पनि यसबाट पनि गल्ती हुन सक्ने प्रतिक्रिया दिएका छन्। "भलै उच्चतम न्यायालयका फैसला अन्तिम हो, तर हामी यसबाट सन्तुष्ट छैनौं," उनले भने।
नेता औवेसीले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) र केन्द्र सरकारप्रति लक्षित गर्दै भने, "जुन व्यक्तिहरुले बाबरी मस्जिद भत्काएका थिए, उनीहरुलाई नै ट्रष्ट गठन र राम मन्दिर निर्माणको काम शुरु गर्न भनिएको छ।"
सर्वोच्चको फैसलामा राम मन्दिर निर्माणको लागि तीन महीनामा ट्रष्ट बनाउन केन्द्र सरकारलाई निर्देश गरिएको थियो।
साढे दुई दशकदेखि मुद्दा चलिरहेको अयोध्या विवादबारे शनिबार भारतको सर्वोच्च अदालतले मुस्लिम समुदायले दाबी गर्दै आएको बाबरी मस्जिदको गुम्बज भएको ठाउँ हिन्दू पक्षलाई दिइने फैसला सुनाएको छ। यस्तै, सो स्थानमा दाबी गर्दै आएको सुन्नी मुस्लिम वक्फ बोर्डलाई मस्जिद बनाउन कुनै मुख्य ठाउँमा पाँच एकड जमीन उपलब्ध गराउन सरकारलाई आदेश दिइएको छ ।
सर्वोच्चको फैसलामा भारतीय पुरातत्व सर्वेक्षणको एउटा प्रतिवेदनले राम मन्दिरको अवशेष भत्काइएको बाबरी मस्जिदमुनि भेटिएको समेत उल्लेख गरेको छ। हिन्दू मन्दिर भत्काएर त्यसैको भग्नावशेषमा बाबरी मस्जिद बनाइएको आरोप हिन्दूहरुले लगाउँदै आएका थिए।
मुस्लिम नेता औवेसीले आफूहरु न्याय र अधिकारको लडाइँ लडिरहेको उल्लेख गर्दै दानमा प्राप्त पाँच एकड जमीनको जरुरत नभएको बताएका छन्। उनले भने, "मस्जिदको विषयमा कुनै पनि किसिमको सम्झौता गर्नेछैनौं।"
अल इन्डिया मुस्लिम पर्सनल ल बोर्डका सदस्य एवम् मुस्लिम पक्षधर सुन्नी वक्फ बोर्डका वकील जफरयाब जिलानीले विवादित जमीन हिन्दु पक्षलाई दिने फैसलामा सन्तुष्ट नभए पनि यसको सम्मान गर्ने बताएका छन्। - एजेन्सी