अयोध्या विवादबारे सर्वोच्चको फैसला: गुम्बज भएको स्थान हिन्दूलाई, मुस्लिम पक्षलाई ५ एकड जमिन
२५ वर्षसम्म मुद्दा चलिरहेको अयोध्या विवादबारे भारतीय सर्वोच्च अदालतले आज फैसला सुनाएको छ । जसअनुसार बाबरी मस्जिदको गुम्बज भएको स्थान हिन्दू पक्षलाई दिइने भएको छ ।
सो स्थानमा दाबी गर्दै आएको सुन्नी मुस्लिम वक्फ बोर्डलाई मस्जिद बनाउनका लागि पाँच एकड अलग्गै जमिन उपलब्ध गराउन अदालतले आदेश दिएको छ ।
फैसला पाँचजना न्यायाधीशको एक इजलासले सर्वसम्मत सुनाएको हो । इजलासले तीन महीनाभित्र एउटा ट्रस्ट बनाउन पनि आदेश दिएको छ ।
१६ औं शताब्दीमा बनेको एउटा मस्जिदलाई सन् १९९२ मा हिन्दूहरूको भीडले भत्काइदिएपछि भएको दङ्गामा करीब दुई हजार मानिसको मृत्यु भएको थियो ।
सर्वोच्च अदालतले शनिवार सुनाएको फैसलामा भारतीय पुरातत्व सर्वेक्षणको एउटा प्रतिवेदनले राम मन्दिरको अवशेष भत्काइएको बाबरी मस्जिदमुनि भेटिएको जनाएको बताइएको छ ।
हिन्दू मन्दिर भत्काएर त्यसैको भग्नावशेषमा बाबरी मस्जिद बनाइएको आरोप हिन्दूहरुले लगाउँदै आएका थिए।
४० दिनसम्म गरिएको सुनुवाइपछि शनिबार बिहान रामजन्मभूमि–बाबरी मस्जिद विवादबारे भारतीय सर्वोच्च अदालतले फैसला सुनाएको हो ।
फैसलापछि हिंसा हुनसक्ने भन्दै उत्तर प्रदेश राज्यमा हजारौं प्रहरी र अर्ध सैनिक बल तैनाथ गरिएका छन् । त्यस्तै अन्य संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
अयोध्यालाई हिन्दूहरू मर्यादा पुरुषोत्तम रामको जन्मभूमि मान्दछन् भने मुस्लिमहरू आफूहरूले त्यहाँ पुस्तौंदेखि प्रार्थना गरिरहेको बताउँछन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले फैसलापछि ट्विट गर्दै त्यसलाई कसैको जित वा हारका रूपमा नलिन आग्रह गरेका छन्।–एजेन्सी