अयोध्या विवाद : भोलि अदालतको फैसला आउन सक्ने
भारतीय सर्वोच्च अदालतले भोलि शनिबार दशकौं पुरानो अयोध्या विवादबारे फैसला सुनाउन सक्ने बताइएको छ ।
फैसला बिहान १० बजे नै आउनसक्ने बताइएको छ ।
राम जन्मभूमि–बाबरी मस्जिद भूमि विवाद मुद्दामा सर्वोच्च अदालतको फैसला आउनुपूर्व केन्द्र सरकारले सबै राज्यसँग अलर्ट रहन र संवेदनशील क्षेत्रमा सुरक्षा सुनिश्चित गर्न भनेको छ ।
भारतले यसै विषयलाई लिएर नेपाल सरकारसँग सुरक्षा व्यवस्था गर्न र नाकामा हुनसक्ने सुरक्षा संवेदनशीलताप्रति सजग गराएको छ ।
भारतको सबैभन्दा संवेदनशील, धार्मिक र राजनीतिक मुद्दामध्ये एक मानिएको राम जन्मभूमि–बाबरी मस्जिद विवादमाथि भारतका मुख्य न्यायाधीश रंजन गोगोईको नेतृत्वमा सर्वोच्च अदालतले फैसला सुनाउने छ ।
प्रधानन्यायाधीश गोगोईद्वारा यो निर्णय उत्तर प्रदेशका शीर्ष अधिकारीबाट राज्यमा कानून–व्यवस्थाको तैयारी पूरा भएको जानकारी पाएको केही समयपछि लिइएको बताइएको छ ।
गोगोईले यसै महीना अवकास प्राप्त गर्दैछन् । उनले आफ्नो अवकासपूर्व फैसला सुनाउने तयारी गरेका हुन् । –एजेन्सी