व्यवस्थापिका–संसद्: विपक्षी दलको अवरोध कायमै
प्रमुख प्रतिपक्षी नेकपा एमालेलगायतका दलहरुको अवरोधका कारण व्यवस्थापिका–संसद्को आजको बैठक पनि अवरुद्ध भयो ।
सदनको कारबाही शुरु हुने बित्तिकै एमाले सांसद वैजनाथ चौधरीले प्रदेश नं ५ को सीमाङ्कनका लागि भन्दै दर्ता गराइएको संविधान संशोधन प्रस्ताव जनताको भावनाअनुसार नभएको बताए ।
उनले सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्तावको विपक्षमा सत्तारुढ दलका सांसदसमेत रहेको भन्दै सो प्रस्ताव अगाडि नबढाउन आग्रह गरे ।
५ नं प्रदेशलाई टुक्र्याउने प्रस्ताव अर्कै उद्देश्यका लागि ल्याइएकाले त्यो प्रस्ताव फिर्ता नहुँदासम्म सदन चल्न नसक्ने उनको भनाई थियो ।
उनको सो धारणालगत्तै नेकपा एमाले, नेकपा माले, राष्ट्रिय जनमोर्चालगायतका दल सम्बद्ध सांसदले उभिएर विरोध जनाएका थिए ।
सभामुख ओनसरी घर्तीले पटक पटक आशन ग्रहण गर्न आग्रह गर्दासमेत विपक्षी दलका सांसदले नमानेपछि व्यवस्थापिका–संसद्को अर्को बैठक १८ पुस, सोमबार दिउँसो १:०० बजे बस्नेगरी स्थगित भएको छ ।
सदनको आजको बैठकको कार्यसूचीमा स्थानीय तह निर्वाचन विधेयक २०७३, स्थानीय तह निर्वाचन (कसुर तथा सजाय) विधेयक, २०७३ नेपालको संविधान (दोस्रो संशोधन), २०७३ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख निर्वाचन आयुक्त लोकमानसिंह कार्कीमाथिको महाअभियोगको प्रस्तावमाथि छलफल गराउने कार्यसूची रहेको थियो ।